२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गरेका छन्।

राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्यसचिव घिसिङको अध्यक्षतामा भएको राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो। सदस्यसचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये पाराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरे। राखेपले राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ। त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ। महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष/महिला हक्की र तेक्वान्दो खेललाई १०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनअगावै गर्ने गरी प्रस्ताव गरिएको हो। निर्णायक संख्या एक हजार चार सय ९९ प्रस्ताव गरिएको छ।

बैठकमा सदस्यसचिव घिसिङले राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए। उनले बृहत् राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रूपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउँदै  राष्ट्रिय खेलकुदलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिए। सदस्यसचिव घिसिङले राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यावसायिक बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराए। खेल पोसाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयारी थालिएको पनि बताए।

सदस्यसचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउँदै प्रस्ताव गरिएका बुँदामा यथशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे। राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताए। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनुुपर्ने बताए। बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्यसचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा पाँद्ब टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनुपर्नेलगायतका विषयमा धारणा राखेका थिए।

प्रकाशित: २८ असार २०८१ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App