जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारत बिजयी हुँदै शृंखलामा २- १ को अग्रता लिएको छ ।
जिम्बाबेको हरारेमा बुधबार भएको खेलमा भारतले घरेलु टोलीलाई २३ रनले हराएको हो ।
यस अघि भारतका कप्तान शुभमन गिलले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो। जवाफमा जिम्बाबेले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो र खेल २३ रनबाट हार्न पुग्यो।
जिम्बाबेका लागि सबै भन्दा बढी डियोन मायर्स नटआउट ६५ तथा क्लाइभ मडान्डेले ३७ रन बनाए ।भारतका वासिङ्टन सुन्दरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । त्यसै गरी आवेश खानले ४ ओभरमा ३९ रन दिएर २ विकेट लिए ।
भारतको पालोमा सबै भन्दा बढी कप्तान शुभमन गिलले ६६ रन बनाए । उनले ४९ बलमा ७ चौक्का र ३ छक्का प्रहार गरेका थिए । त्यसै गरी रुतुराज गायकवाडले ४९, यशस्वी जैस्वालले ३६, सञ्जु सैमसनले १२ तथा अभिषेक शर्माले १० रन बनाए। जिम्बाबेका लागि कप्तान सिकन्दर रजा र ब्लेसिङ मुजराबानीले दुई दुई विकेट लिए ।
विश्वकप जिते लगतै जिम्बाबेको भ्रमण गएको भारतीय टोली पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा जिम्बाबेलाई १०० रनले हराएको थियो।
प्रकाशित: २६ असार २०८१ २०:१८ बुधबार