१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

युरो कप : इंग्ल्यान्ड र स्लोभाकिया प्रिक्वाटरफाइनल खेलमा भिड्दै

युरो कप २०२४ को राउन्ड अफ १६ अन्तर्गत  आइतबार राती इंग्ल्यान्ड  र स्लोभाकियाबिच प्रिक्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार  राती ९:४५ बजे देखि सुरु हुनेछ। यी दुईबिचको  खेलबाट युरो कपको क्वार्टरफाइनलमा पुग्ने तेस्रो टोलीको टुङ्गो लाग्नेछ। स्विट्जरल्यान्ड र आयोजक  जर्मनी क्वार्टरफाइनलमा पुगिसकेका छन्।

समूह सी को विजेता बन्दै इंग्ल्यान्ड  अन्तिम १६ मा पुगेको हो । समूह चरणमा इंग्ल्यान्डले सर्बियालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा इंग्ल्यान्डको टोली डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा स्लोभानियाले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो।

समूह ‘ई’ मा रहेको स्लोभाकिया उत्कृष्ट चार वटा टोलीभित्र पर्दै अन्तिम १६ मा पुग्न सफल भएको हो।समूह चरणमा स्लोभाकियाले एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो। स्लोभाकियाले बलियो बेल्जियमलाई १–० गोलले हराएको थियो। 

विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा स्लोभाकिया भन्दा इंग्ल्यान्ड निकै अगाडि छ  वरीयतामा इंग्ल्यान्ड पाँचौँ र स्लोभाकिया ४५औँ स्थानमा छन्।

हालसम्म  इंग्ल्यान्डले युरो कपको उपाधि भने जित्न सकेको छैन । यस अघिको फाइनल  खेलमा इंग्ल्यान्ड इटालीसँग पेनाल्टी सुट आउटमा ३–२ गोलले पराजित भएको थियो। स्लोभाकियाको भने युरो कपमा यो छैटौँ सहभागिता हो। 

इंग्ल्यान्ड र स्लोभाकियाबिच अहिलेसम्म ६ पटक एक आपसमा भिडन्त भएको छ। त्यसमध्ये पाँच खेलमा इंग्ल्यान्डले स्लोभाकियालाई हराएको छ ।बाँकी एक खेल भने बराबरीमा सकिएको थियो। 

यस्तै राती १२:४५ बजे अर्को खेलमा स्पेन र जर्जिया भिड्ने छन् ।स्पेन समूह बि को विजेता हो।स्पेनले इटाली, अल्बानिया र क्रोएसिया विरुद्ध सबै खेल जितेको थियो। जर्जिया भने समूह एफ मा तेस्रो भएको थियो। पछिल्लो खेलमा जर्जियाले बलियो प्रतिद्वन्दी पोर्चुगललाई हराएको थियो।

प्रकाशित: १६ असार २०८१ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App