१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा

आईसिसी टी–२० विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक दक्षिण अफ्रिका फाइनलमा पुगेको छ।

जारी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका आईसिसीको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो।

वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८. ५ ओभर खेल्दै एक विकेटको क्षतिमा पूरा गर्यो।

दक्षिण अफ्रिका हालसम्म आईसिसी विश्वकपको वान डे र टी–२० को इतिहासमा फाइनल पुग्न सकेको थिएन। यसअघि दक्षिण अफ्रिकी टीम ५ पटक (१९९२, १९९९, २००७ र २०२३) वान डे को सेमिफाइनलमा पुगेको र टी–२० विश्वकपमा (२००९ र २०१४) २ पटक सेमिफाइनलमा पुगेको भएपनि फाइनलमा पुग्न असफल हुँदै आएको थियो । तर, यसपटक भने सुरुदेखि नै फर्ममा रहेको दक्षिण अफ्रिकी टीमले इतिहास रचेको छ। र, अब फाइनलमा पनि उपाधि जित्ने लक्ष्य राखेको छ।

दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन कप्तान एडन माक्ररमले २३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले सर्वाधिक २९ रनको पारी खेले। त्यसअघि ओपनर ब्याट्सम्यान क्वान्टिन डी कक ५ रनमा पभेलिएन फर्केका थिए। उनलाई अफगानिस्तानका फजलहक फारुकीले बोल्ड गरेका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरको  ११.५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो। पहिलोपटक सेमिफाइनलमा पुगेको अफगानिस्तानका कुनैपनि ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसमक्ष धेरै बेर टिक्न सकेनन्। जसका कारण अफगानिस्तान झिनो रनमै समेटियो।

अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाज, मोहम्मद नाबी , नुर अहमद र फजलहक फारुकीले खातै खोल्न पाएनन् । इब्राहिम जादरान २, गुलबदिन नायब ९, अजमतुल्लाह ओमरजाई १०, नानगेयालिया खरोटे २, करिम जनत ८ र कप्तान राशिद खान ८ रनमा आउट भए। अफ्रिकन बलरले दिएको अतिरिक्त १३ रन अफगानी इनिङ्समा सर्वाधिक रन बन्यो । 

अफगानिस्तानलाई झिनो रनमै समेट्न दक्षिण अफ्रिकाका मार्को जेनसन र तबरेज सम्सीले समान ३/३ विकेट लिए भने कागिसो रबाडा र एनरिक नोर्टजीले समान २/२ विकेट हात पारे।

दक्षिण अफ्रिकाले अब फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलका विजेता भारत वा इङ्ग्ल्यान्डसँग आइतबार खेल्ने छ।

प्रकाशित: १३ असार २०८१ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App