१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

वाइल्ड कार्डमार्फत् जुडो खेलाडी मनीता पेरिस ओलम्पिकमा सहभागी हुने

जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्। मनीताले महिला ५७ केजीमुनि तौल समूहमा खेल्नेछिन्।

दक्षिण एसियाली खेलकुद (साग)को १२ औँ र १३ औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी हुन। उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण जितेकी थिइन्। मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् ।

मनिताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजत लगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन्। मनितासँग एसियाली खेलकुदको १८ औँ र १९ औँ संस्करण खेलेको पनि अनुभव छ। पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन्। मनीता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छन्।

काठमाडौँको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम)बाट जुडो खेल्न सुरु गरेकी मनीता विगत पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध छिन्। मनीताका सुरुवाती गुरु टोकियो ओलम्पिक–२०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुन् । पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन्।

ओलम्पिकमा सहभागी हुने मनीता छैटौँ नेपाली जुडो खेलाडी हुन्। यसअघि १९८८ को सिओल ओलम्पिकमा गङ्गाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए।

मनीताले छनोट भएकोमा आश्चर्य र खुसी लागेको प्रतिक्रिया दिदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताइन्।

सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो। मलाई पत्याउनै गाह्रो भयो। त्यसपछि सूर्य गुरुको फोन आयो। नि मात्र विश्वस्त भए। ओलम्पिक जस्तो ठुलो खेलकुदमा छनोट भएकोमा आश्चर्य र खुसी लागेको छ ,मनीताले भनिन्– पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्नेछु।

पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको संख्या ७ पुगेको छ। पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल,  टेबल टेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालले पेरिस यात्रा पक्का गरिसकेका छन्।

स्यान्टु भने छनोट चरण पार गर्दै ओलम्पिकका लागि छनोट भएका हुन् भने बाँकी वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेका हुन्।

प्रकाशित: १२ असार २०८१ १८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App