२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

फ्रान्सको आशा एम्बाप्पेमा

फ्रान्स युरो कप २०२४ मा अन्तिम १६ मा पुग्ने लगभग निश्चित छ। तर, मंगलबार समूहचरणको आफ्नो अन्तिम खेलमा पोल्यान्डको सामना गर्दा फरवार्ड किलियन एम्बाप्पेले पुनरागमन गर्ने र गोलको लय समात्नेमा फ्रान्सेली टोलीले ठूलो आशा राखेको छ।

समूह ‘डी’ को दुई खेलबाट चार अंक जोडेको फ्रान्सले जारी प्रतियोगितामा कुनै गोल गर्न सकेको छैन। अस्ट्रियाका डिफेन्डर म्याक्सिमिलियन ओबरले दिएको उपहार गोलले गर्दा तीन अंक पाएको फ्रान्स अहिले समूहको शीर्ष दुईमा रहेको छ। 

एम्बाप्पेको अनुपस्थितिमा शुक्रबार नेदरल्यान्ड्ससँग गोलरहित बराबरी खेलेको फ्रान्सले आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० ले हराएको थियो । स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका एम्बाप्पे अस्ट्रियाविरुद्धको खेलको ९० औं मिनेटमा चोटग्रस्त हुन पुगेका थिए। डिफेन्डर केभिन डान्सोको काँधमा ठोक्किन पुगेका उनको नाकमा चोट लागेको छ। यद्यपि, उनी खेल्न सक्ने अवस्थामा रहेका छन्। तर, आफ्नो नाकको सुरक्षा गर्न उनले मैदान प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने भएको छ।  

आइतबार पेडरबोर्नमा आफ्नो टोलीसँग उनले प्रशिक्षण गरेका थिए। त्यसैले उनी मंगलबार कप्तानको भूमिकामा फर्किनेमा उनको टोलीका सदस्य आशावादी छन्। ‘उनी अर्को खेलमा खेल्न उत्सुक छन्। यो खबरले कसैलाई पनि आश्चर्यचकित पार्ने छैन,’ मिडफिल्डर ओरेलिन चुआमेनीले भने, ‘जहाँसम्म मास्कको कुरा छ, उनी यसमा अभ्यस्त हुन थालेका छन्। उनी मैदानमा भए टोलीमा धेरै कुरा परिवर्तन भएको देख्न पाइनेछ।’ एम्बाप्पेको क्रसलाई अस्ट्रेलियाका लेफ्ट ब्याक ओबरले हेड गर्दै बचाउने प्रयास गरेका थिए। 

तर, बलले आफ्नो पोस्ट चुम्दा फ्रान्सले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको थियो। एम्बाप्पे मैदान फर्किए प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई ठूलो राहत पुग्नेछ। मार्कस थुरामले फ्रान्सेली टोलीको आक्रामक लाइनको नेतृत्व गरिरहेका छन्। तर, लयमा नरहेका उनले २२ खेलमा टोलीका लागि दुई गोल मात्र गर्न सकेका छन्। एन्टोनी ग्रिजमनले पनि पछिल्ला ३० खेलमा दुई गोल मात्र गरेका छन् भने औस्मान डेम्बेलेले पछिल्लो तीन वर्षमा जिब्राल्टरविरुद्ध एक गोल मात्र गर्न सकेका छन्।

चोटका कारण बायर्न म्युनिखबाट सिजनको अन्त्यमा खेल्न नपाएका किङ्स्ले कोम्यान अझै पनि आफ्नो फिटनेसमा सुधार गरिरहेका छन् भने पेरिस सेन्ट जर्मेन (पिएसजी) मा एम्बाप्पेको छायामा परेका रान्डल कोलो मुआनी मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन संघर्ष गरिरहेका छन्। नेदरल्यान्ड्सविरुद्धको खेलपछि ग्रिजमनले भने, ‘यो स्कोर निराशाजनक छ। तर, आत्तिनुपर्ने कारण छैन। डिफेन्स र मिडफिल्डले उल्लेखनीय सुधार गरिरहेका छन्। हामीले विपक्षीलाई धेरै कम अवसर दिइरहेका छौं। तर, हामीले आक्रमणमा सुधार गर्नुपर्छ र अझ घातक बन्नुपर्छ।’

डेयोट उपमेकानो र विलियम सालिबाको सेन्टर ब्याक जोडीले गोलरक्षक माइक माइगननलाई सहज बनाइदिएका छन्। एनगोलो कान्टेले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै दुई वर्षपछि अन्तर्राष्ट्रिय मञ्चमा पुनरागमन गरेका छन्। ‘हामी रक्षात्मक रूपमा कति बलियो छौं भन्ने कुरा कोट्याउन महत्त्वपूर्ण छ। उपाधि जित्ने प्रयास गर्दै हुनुहुन्छ भने यो लाइन मजबूत हुन जरुरी छ,’ चोउमेनीले भने, ‘यदि हामीले खेल जित्ने हो भने पक्कै पनि हामीले गोल गर्नुपर्छ। गोल गरे हाम्रो लक्ष्य अलि सजिलो बन्नेछ।’ फ्रान्सलाई अन्तिम १६ मा पुग्नका लागि पोल्यान्डसँग बराबरीको नतिजा नै पर्याप्त हुनेछ। यद्यपि, कतार विश्वकप २०२२ को उपविजेता फ्रान्सले शीर्ष स्थान हासिल गर्दै अन्तिम १६ मा पुग्न पोल्यान्डलाई हराउनै पर्ने हुन्छ।

दुई खेलमा दुई हार बेहोरेको पोल्यान्ड भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। यद्यपि, यस खेलमा पोल्यान्डका अनुभवी स्ट्राइकर रबर्ट लेवान्डोस्की पनि उपस्थित हुनेछन्। युरोकपअघि नै घाइते भएका उनी अस्ट्रियाविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। डच टोलीलाई हराउन नसके अस्ट्रिया पनि प्रतियोगिताबाट बाहिरिने खतरामा छ। 

यता, डच टोलीलाई अस्ट्रियाविरुद्धको नतिजामा सुधार गर्न या कमसेकम फराकिलो अन्तरले जित हासिल गर्न आवश्यक छ। समूहचरणमा जहाँ सुकै भए पनि अन्तिम १६ को सम्भावित प्रतिद्वन्द्वी धेरै हदसम्म परिवर्तन नहुन सक्छ। तर, क्वार्टरफाइनल र त्यसपछिका सम्भावित स्थानलाई भने यसले थप प्रभाव पार्न सक्छ।

प्रकाशित: ११ असार २०८१ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App