सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च बोइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्ने भएको छ।
चर्च बोइज र भुटानी लिग विजेताबीचको खेल अगस्ट १३ मा हुनेछ। सिंगल लेग नकआउट फम्र्याटमा हुने यस खेलको विजेता प्रतियोगिताको समूहचरणका लागि छनोट हुनेछ। समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्। प्रतियोगितामा छनोट भए चर्च बोइजले न्यूनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ।
गत संस्करण चर्च बोइजले मच्छिन्द्र फुटबल क्लबलाई तीन अंकले पछाडि पार्दै लिग जितेको थियो। चर्च बोइजले २६ खेलबाट ४८ अंक जोड्दा मच्छिन्द्र ४५ अंकमै समेटियो। लिग जितेसँगै चर्च बोइजले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको सहभागिता जनाउने पक्का भएको थियो। यता, पारो एफसीले भने थिम्पु सिटीलाई सात अंकले पछि पार्दै लिग जितेको थियो। १८ खेलमा पारोले ४९ अंक जोड्दा थिम्पुले ४२ अंक जोडेको थियो।
प्रकाशित: ७ असार २०८१ ०७:५७ शुक्रबार





