१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

समूह चरण पार गर्नेमा क्रोएसिया आशावादी

डालिचको टोली क्रोएसिया जर्मनीमा जारी युरोकपको नकआउट चरणमा पुग्ने दाउमा छ। तर, ‘गोल्डेन जेनेरेसन’ को उपनाम दिइएको यो टोली समूहचरणबाट बाहिरिने सँघारमा रहेको छ।

कप्तान तथा स्टार खेलाडी लुका मोड्रिच ३८, विंगर इभान पेरिसिच ३५, मिडफिल्डर मार्सेलो ब्रोजोभिच र माटेओ कोभासिच तथा फरवार्ड आन्द्रेज क्रामरिक ३० वर्ष पुगिसकेका छन्। मारियो मान्डजुकिच, इभान राकिटिच र डेजन लोवरेनसहित राष्ट्रिय टोलीका पूर्वखेलाडीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्। गत शनिबार सम्पन्न खेलमा स्पेनसँग ३–० ले पराजित भएका १५ खेलाडीको औसत आयु २८.५ वर्ष थियो। तर, प्रशिक्षक डालिच भने अल्बानियासँग ह्याम्बर्गमा खेलेपछि समूह ‘बी’ अन्तर्गत लिपजिगमा हुने इटालीविरुद्धको खेलले क्रोएसियाको आगामी यात्रा तय गर्ने बताउँछन्। सन् १९९८ मा विश्वकपको सेमिफाइनलमा पुगेको क्रोएसियाले रूस विश्वकप २०१८ मा फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, उपाधि भिडन्तमा क्रोएसिया फ्रान्ससँग पराजित भयो।

कतार विश्वकप २०२२ मा क्रोएसिया तेस्रो भएको थियो भने गत वर्ष मात्र नेसन्स लिगको फाइनलमा स्पेनसँग पराजित भएको थियो। ‘निराशावादीका लागि कुनै ठाउँ छैन। सबै कुरा अझै पनि हाम्रो हातमा छ र हामीले अझ राम्रो गर्नुपर्छ,’ डालिचले भने। पेरिसिचले ब्रुनो पेटकोभिचलाई पेनाल्टी प्रहार गर्न दिएपछि टोलीमा खटपट सुरू भएको हल्ला चलिरहेको छ। स्पेनविरुद्धको खेलको ८०औं मिनेटमा उनले दुई पटक पेनाल्टी प्रहार गरेका थिए। तर, स्पेनिस गोलरक्षक उनाई सिमोनले उनको प्रहारलाई विफल पारे। डालिचले सार्वजनिक रूपमा आफ्ना स्ट्राइकरको आलोचना गरेका थिए। तर, अहिले उक्त खटपट मिलिसकेको विंगर लोभ्रो माजेर दाबी गर्छन्। ‘त्यो कुरा सकियो भन्ने मलाई लाग्छ। प्रशिक्षकले यस विषयमा सबै कुरा भनिसक्नुभएको छ। ब्रुनोले पेनाल्टी प्रहार गरे। तर, दुर्भाग्यवश उनले गोल गर्न सकेनन्। यस्तो जोकोहीलाई पनि हुन सक्छ,’ उनले भने।

डालिचले अल्बानियाविरुद्धको खेलमा मोड्रिच, कोभासिच र ब्रोजोभिचको मिडफिल्ड लाइनलाई तोड्ने सम्भावना छ। इन्टर मिलानका पूर्वखेलाडी ब्रोजोभिच गत वर्ष साउदी क्लब अल नासरमा बसाइँ सरेका थिए। उनले क्रोएसियालाई समूहचरण पार गराउन सक्ने खेलाडीको रूपमा हेरिएको छ। तर, उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। स्पेनविरुद्धको खेलमा क्रोएसियाले एक दर्जनभन्दा बढी अवसर सिर्जना गरेको थियो। तर, १६ पटक प्रहार गरेको बल पाँच पटक मात्रै टार्गेटमा रहेको थियो। बल पोसेसनमा पनि क्रोएसिया अगाडि नै थियो। तर, गोलको खाता भने फाबियन रुइजले उपलब्ध गराइदिएको ‘थ्रु’ बलले खोलेको थियो। उक्त बललाई सदुपयोग गर्दै अल्भारो मोराटाले गोल गरेका थिए। रुइज र ड्यानी कार्भाजले पनि खेलको पहिलो हाफमै गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाएका थिए।

त्यसपछि क्रोएसिया खेलमा फर्किन सकेन र स्पेनले महत्त्वपूर्ण तीन अंक जोड्यो। ‘यो परिणामले देखाएजस्तो वास्तविकता नराम्रो छैन। यो फुटबल हो, कहिलेकाहीँ स्कोर हुँदैन र हार स्वीकार गर्नुपर्छ। तर, यो हार त्यति ठूलो भयानक होइन,’ माजेर भन्छन्।

युरोकप २०२० को समूह चरणमा इङ्ल्यान्डसँग १–० गोलले पराजित भए पनि क्रोएसियाले चेक रिपब्लिकलाई १–१ को बराबरीमा र स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। कतार विश्वकपमा पनि क्रोएसियाले समूहचरणको पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेल्दै सुरुआत गरेको थियो। तर, त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्रोएसिया तेस्रो स्थानसम्म पुगेको थियो। स्पनेसँगको हारपछि डालिचले आफ्ना समर्थकसँग माफी माग्दैे बाँकीका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए। मिडफिल्डर माजेर पनि बाँकी खेलमा अन्त्यसम्म लड्ने बताउँछन्। ‘हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछौं र अन्त्यसम्म लड्नेछौं। अर्को दुई खेल जित्नेछौं र समूह चरण पार गर्नेछौं,’ उनले भने।

प्रकाशित: ५ असार २०८१ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App