१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

अर्जुनको अर्धशतकप्रेरित कास्की उपाधि नजिक

अर्जुन कुमालको अर्धशतकप्रेरित कास्की जिल्ला गण्डकी प्रदेशस्तरीय पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ। लिग चरणका तीन खेलमा शतप्रतिशत जित हासिल गर्दै कास्की उपाधिनजिक पुगेको हो। समूह ‘ए’ को अन्तिम खेलमा बलियो मानिएको तनहुँलाई ७७ रनले हराएसँगै कास्कीले ६ अंक जोड्यो।

कास्कीले दिएको १७२ रनको लक्ष्य पछ्याएको तनहुँले १८ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो। तनहुँका दिनेश बुढाले सर्वाधिक ४१ रनको योगादन दिए।

कप्तान समीर कँडेलले २२ र दीपेश अधिकारीले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। कास्कीका कृष्ण पौडेल र विपिन खत्रीले समान तीन विकेट लिए।

त्यस्तै, सुभास भण्डारीले दुई र नीतेश गिरीको नाममा एक विकेट रह्यो। त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। खेलको म्यान अफ दी म्याचसमेत रहेका कास्कीका अर्जुन कुमालले सर्वाधिक ५८ रन बनाए। ३५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे।

अभिषेक थापाले अविजित रहँखै ११ बलमा दुई छक्का र एक चौकासहित २६ रन जोडे। सोहिल कुँवरले २३, मुस्कान थापा ११ र सिब्रिन श्रेष्ठले १० रनको योगदान दिए। बागलुङका चन्द्रकान्त पौडेल, प्रदीप अर्याल, दिनेश बुढामगर र अलिक श्रेष्ठले समान एक विकेट लिए।

समूहमा ‘ए’ अन्तर्गत आइतबार नै भएको अर्को खेलमा बागलुङ २९ रनले विजयी भएको छ। बागलुङले दिएको ७७ रनको लक्ष्य पछ्याएको म्याग्दी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमा समेटियो । बागलुङलाई जित दिलाउन सञ्चार निउरेले सर्वाधिक ६ विकेट लिए। उनले आफ्नो चार ओभरको स्पेलमा १० रन मात्रै खर्चिए। उनी खेलको म्यान अफ द म्याच घोषित भए।

त्यसअघि पहिला ब्याटिङ थालेको बाग्लुङले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाएको थियो। म्याग्दीका हरि सुवेदीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन दिएर सर्वाधिक पाँच विकेट लिए। प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘बी’ को पहिलो खेल पर्वत र नवलपुरबीच हुनेछ भने दोस्रो खेल स्याङ्जा र गोरखाबीच हुनेछ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोटसमेत रहेको प्रतियोगिताको विजेता टोलीलाई एक लाख र उपविजेतालाई ५० हजार रूपैयाँका साथ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ३ असार २०८१ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App