१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

खेलकुद मन्त्रीका सय दिन: प्रमुख उपलब्धि वार्षिक क्यालेन्डर निर्माण

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक कार्यप्रगतिमा उनले आफू मन्त्री भएपछि खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगितालाई पारदर्शी तथा योजनावद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको बताएका छन्।

स्पोर्ट्स साइन्स अध्ययनका लागि काठमाडौं विश्वविद्यालयसँग समझदारी भएको उनले जानकारी दिए। साथै विद्यालयस्तरको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा अनुरोध गरी पठाइएको उनले बताए।

अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सम्भावना भएका खेलहरूलाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रंगाशालाको डिपिआर तयार गरिएको उनले जानकारी दिए।

किर्तिपुर क्रिकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लड लाइटको खरिद प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए। दशरथ रंगशालाको मर्मत कार्य सम्पन्न भएको र राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रत्येक प्रदेशमा आलोपालो गर्ने क्रममा यस वर्ष कर्णाली प्रदेशमा आयोजना गर्न पूर्वाधार निर्माण कार्यलाई तिव्रता दिइएको बताए।

आफ्नै पालामा नेपाली पुरुष टोली आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता भएको र मिसन २०२६ अन्तर्गत १० खेलका खेलाडीहरूलाई विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

यस्तै, क्रिकेट, ट्रायथलन, स्क्वास, बास्केटबल, युथ महिला फुटबललगायतबाट ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको उनले उल्लेख गरेका छन्। राष्ट्रियतर्फ एनभिए महिला तथा पुरुष भलिबल, ५६औं राष्ट्रिय कराते प्रतियोगिता, बुद्धिचाल, मोबाइल लेजेन्ड्स च्याम्पियनसिप, ट्रायल रेस, फुटबल गोल्डकपलगायतका ४४ वटा प्रतियोगिता सम्पन्न भएको जानकारी दिए।

प्रकाशित: ३ असार २०८१ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App