१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मौसमबारे जानकारी अब सर्वसाधारणकै मोबाइलमा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौँले मौसमको पूर्वानुमान सर्वसाधारणको मोबाइल मोबाइलमा पठाउने तयारी थालेको छ। यसका लागि नेपाल टेलिकम (एनटीसी) र एनसेलसँंगै समझदारी पत्रमा हस्ताक्षर (एमओयू)को काम गरिरहेको छ।

एनसेलसँंग एमओयू भइसकेको छ, मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौँकी इन्चार्ज वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नागरिकसँग भनिन्, एनटीसँग एमओयूको प्रक्रियामा छौँ। एनटीसी र एनसेलसँंग एमओयू भइसकेपछि यही मनसुनभित्रै यो कार्य प्रारम्भ गर्ने योजना रहेको उनले सुनाइन्। प्रत्येक वर्ष जुन, जुलाई अगष्ट र सेप्टेम्बर महिनालाई मनसुन महिना भनिन्छ । यस अनुसार यो सुविधा सेप्टेम्बर (भाद्र आश्विन)सम्ममा सुरु गर्ने योजना छ।

मानन्धरका अनुसार यो सेवा विशेष गरेर अति आवश्यक क्षेत्रमा क्षेत्रगत रुपमा मात्रै पठाइनेछ । देशैभरि एउटै मौसम हुँदैन, उनले भनिन्, जुन ठाउँमा मौसमका कारण समस्या आउने जस्तै भारी वर्षा, चट्याङ्ग, हावाहुरी आदि चर्को रुपमा पूर्वानुमान हुन्छ, त्यही ठाउँका सर्वसाधारणलाई मात्रै यो सुविधा हुनेछ।

अहिले पनि सर्वसाधारणको मोबाइलमा मौसमको पूर्वानुमान आउने गर्दछ। तर त्यो आधिकारिक र सरकारी होइन। निजी संस्थाहरूले गरेको पूर्वानुमान पठाउने गरेका हुन्।

मौसम पूर्वानुमान महाशाखा दैनिक, तीन तीन दिनको, लामो समयको मौसमको पूर्वानुमान गर्छ । यस अनुसार उसले वेबसाइट, फेसबुक, ट्विटर, इमेल आदिबाट सर्वसाधारणलाई जानकारी दिने प्रयास गर्दछ। साथै उसले सञ्चारमाध्यम र अरु सरोकारवाला सरकारी निकायलाई पनि जानकारी पठाउँछ।

यही जानकारीहरूबाट सर्वसाधारणसम्म पुग्ने प्रयास हुन्छ। तथापि सर्वसाधारणले प्रभावकारी रुपमा मौसमको पूर्वानुमानको खबर पाएका हुँदैनन्। तर अहिलेको यो सुविधा सञ्चालनमा आएपछि सामान्य सर्वसाधारणलाई पनि कम शब्दमा सरल भाषामा बुझिने गरी पठाउने योजना राखिएको छ।

महाशाखाले दैनिक बिहान र बेलुकी गरी दुई पटक मौसम पूर्वानुमानको डाटा संकलन, विश्लेषण गरी मौसमको पूर्वानुमान गर्छ । यसबाहेक कहिलेकाहीँ विशेष परिस्थितिमा आकस्मिक पूर्वानुमान पनि गर्छ। महाशाखाले वर्षा, हावाहुरी, मेघ गर्जन, चट्याङ्ग, बाढी पहिरो आदिको पूर्वानुमान गर्छ र सरोकारवालाई निकायलाई सूचना पठाउँछ।

त्यसपछि जोखिमबाट बचाउन  ती सरोकारवाला निकायहरूले जनतासमक्ष पूर्व तयारी र जोखिमबाट बच्ने उपायहरूबारे जानकारी दिन्छ। यसका लागि राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरण र त्यस मातहतका सरकारी निकायहरू जोखिमबाट बचाउने काममा लाग्दछन्। तथापि गतवर्ष मात्रै मौसमका कारण १८ लाख मानिस प्रभावित भएको तथ्याङ्क छ।

यसैबिच यो वर्षको मनसुन कोसी प्रदेशबाट सुरु भएको र क्रमशः आगामी एक हप्ता, दस दिनभित्र देशभरि मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ। पूर्वबाट क्रमशः मधेस, काठमाडौँ उपत्यका हुँदै सुदूरपश्चिममा मनसुन सुरु हुने अनुमान छ। तथापि उपकरण अभाव, जनशक्ति अभाव, भौगोलिक विविधता –हिमाल, तराई पहाड तथा ६५ देखि आठ हजार आठ सय ४८ मिटर)सम्म रहेका कारणले कहिलेकाहीँ पूर्वानुमान सही नहुने गरेको महाशाखाले जनाएको छ । 

प्रकाशित: २ असार २०८१ २०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App