४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

पेड्रीमै आशावादी स्पेन

पेड्री गोन्जालेजले आफ्नो स्वाभाविक लयमा पुनरागमन गरेसँगै स्पेन शुक्रबारदेखि जर्मनीमा सुरु भएको युरो कप जित्नेमा लगभग ढुक्क देखिन्छ। क्याटलान क्लब बार्सिलोनाका २१ वर्षीय प्लेमेकर पेड्रीको टोलीले शनिबार क्रोएसियाविरुद्ध खेल्दै युरो कपको सुरुआत गर्नेछ।

क्रोएसियाको यो टोलीको कप्तानी जिम्मेवारी बार्सिलोनाका प्रतिद्वन्द्वी क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका ३८ वर्षीय मिडफिल्डर लुका मोड्रिचले सम्हाल्दै आएका छन्। उनकै कप्तानीमा क्रोएसियाले रूस विश्वकपको फाइनल र कतार विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसैले करिअरको उत्तरार्धमा रहेका उनी ब्याक टु ब्याक क्रोएसियालाई त्यही सफलता दिलाउने लक्ष्यमा हुनेछन्।

पेड्रीसँग उनको मिडफिल्ड द्वन्द्वले शनिबार बर्लिनमा हुने हेभिवेट भिडन्तमा एल क्लासिको (बार्सिलोना र रियालबीचको भिडन्त) झल्को दिने अनुमान पनि गर्न सकिन्छ।

स्पेन र क्रोएसिया रहेको समूह ‘बी’ मा गत संस्करणको विजेता इटालीसँगै अल्बानिया पनि छ । यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ। तर, लय समातेका पेड्रीले स्पेनलाई उपाधि दिलाउने आशा टोलीले गरेको छ।

स्पेन युरो कप २०२० को सेमिफाइनलमा पुग्दा पेड्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर, पटकपटक ह्यामस्ट्रिङको चोटका कारण उनको करियरले सोचेजस्तो गति लिन सकेन।

स्पेनिस लिग ला लिगा सिजनको अन्तिम हप्ता र स्पेनको मैत्रीपूर्ण खेलमा पेड्रीले आफ्नो सर्वश्रेष्ठमा फर्कने बलियो संकेत देखाएका थिए । गत साता उनले दुई गोल गरेसँगै स्पेनले युरो कपको अन्तिम अभ्यास खेलमा नर्दन आयरल्यान्डलाई ५–१ ले पराजित गरेको थियो।

हुन त पछिल्लो समय उनको पोजिसनबारे बहस पनि हुन थालेको छ । मिडफिल्डको जिम्मेवारी दिए पनि उनी फाइनल ‘थर्ड’ मा पुगेर टोलीका लागि महत्त्वपूर्ण गोल गर्न सक्ने क्षमता राख्दछन्। यसबाहेक उनले गोलका लागि पनि पर्याप्त मौका सिर्जना गर्दिन सक्छन्। तर, प्रशिक्षक लुइस डे ला फुएन्टे भने उनको पोजिसनलाई लिएर चिन्ता गर्न आवश्यक नरहेको बताउँछन्।

‘उनले अन्तिम बलको फाइदा उठाउँदै लाइनको बीचनजिक खेलून् भन्ने हामीलाई लाग्छ। यसरी उनले खेले धेरै कुरा प्राप्त गर्न सक्छौं । तर, उनी स्वाभाविक लयमा खेल्छन्,’ फुएन्टेले भने।

मोड्रिच, म्यानचेस्टर सिटीका माटेओ कोभासिक र अल नासरका मार्सेलो ब्रोजोभिकको बलियो मिडफिल्ड लाइनलाई रोक्न स्पेनले कडा मिहिनेत गर्नुपर्ने हुन्छ। क्रोएसिया तथा रियालका मिडफिल्डर मोड्रिच आफ्नो टोलीविरुद्ध बार्सिलोनाका आफ्ना समकक्षी पेड्री कति खतरानाक साबित हुन सक्छन् भन्नेबारे पक्कै जानकार छन्। त्यसैले पनि उनीसँग पेड्रीलाई रोक्ने योजना हुनेछ।

 क्रोएसिया समूहचरणमा अर्जेन्टिना, नाइजेरिया, आइसल्यान्डलाई हराउँदै रूस विश्वकप २०१८ को फाइनलमा पुगेको थियो। उत्कृष्ट प्रदर्शन गर्दै समर्थक बटुलेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क, क्वार्टरफाइनलमा रूस र सेमिफाइनलमा इङ्ल्यान्डलाई पनि पाखा लगायो। तर, फाइनलमा फिनिसिङमा चुकेको क्रोएसिया उपाधि भिडन्तमा भने फ्रान्ससँग ४–२ गोलअन्तरले पराजित हुँदा उपविजेतामा खुम्चियो।

कतार विश्वकप २०२२ मा क्रोएसिया सेमिफाइनलबाट अगाडि बढ्न सकेन। फाइनल प्रवेशका लागि भएको खेलमा अर्जेन्टिनासँग पराजित भएपछि क्रोएसियाले तेस्रो स्थानका लागि मोरक्कोसँग प्रतिस्पर्धा गरेको थियो।

उक्त खेलमा २–१ गोलअन्तरले विजयी भएको क्रोएसिया विश्वकपको ती नतिजालाई भुलेर युरो कपमा आफ्नो स्वाभाविक लयलाई निरन्तरता दिने योजनामा हुनेछ।

सन् २०१० को विश्व विजेता स्पेनको इतिहास भने पछिल्लो तीन संस्करणमा सम्झनयोग्य छैन। ब्राजिल विश्वकपमा समूहचरणबाट बाहिरिएको स्पेनिस टोली रूस र कतार विश्वकपमा भने अन्तिम १६ बाट माथि उक्लिन सकेन। तीन पटक उपाधि जिते पनि स्पेनको रेकर्ड युरो कपमा पनि विश्वकपमा झैं खस्किँदो छ।

सन् २००८ मा जर्मनी र २०१२ मा इटालीलाई फाइनलमा पराजित गरेको स्पेन त्यसपछिका दुई संस्करणमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।

पछिल्लो संस्करणको युरो कपमा स्पेन र क्रोएसिया अन्तिम १६ मै भिडेका थिए। उक्त खेलमा स्पेनका गोलरक्षक उनाई सिमोनको गल्तीका कारण पेड्रीले करिब ५० यार्ड टाढाबाट प्रहार गरेर बलले आफ्नै पोस्टको जाली चुम्यो। त्यही एक आत्मघाती गोलसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो। थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले २–२ को नतिजालाई अगाडि बढाउन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।

क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनल पुगेको स्पेन इटालीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेको थियो। यस पटक पेड्री अन्तिम भेटमा क्रोएसियाविरुद्ध गरेको त्यो गल्तीलाई दोहो¥याउन चाहँदैनन्। अर्कोतर्फ चोटबाट फर्किएपछि उनी झन् आत्मविश्वासी देखिएका छन्।

‘म पहिलेभन्दा धेरै राम्रो खेल्दै छु भन्ने मलाई लाग्छ। मेरो पहिलो गोल (उत्तरी आयरल्यान्डविरुद्ध) देख्नु नै भएको छ मैले चोटलाई पछाडि छोडेको छु,’ युरो कपअघि पेड्रीले भने,‘मैले धेरै मेहनत गरें, विभिन्न असफलताहरूपछि सिजनको अन्त्यमा राम्रो प्रदर्शन गरें।’

स्पेनले सन् २०२३ को जुनमा नेसन्स लिगको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरो कप २०१२ पछिको उपाधि खडेरी तोड्न सफल भएको थियो। १२० मिनेटभन्दा बढी समय चलेको गोलरहित बराबरीको खेलले यी दुई टोलीहरूबीच कति रोचक प्रतिस्पर्धा हुन्छ भन्ने प्रस्ट्याउँछ नै। यद्यपि, स्पेनले उक्त खेल पेड्रीबिना नै खेलेको थियो।

पेड्री यस पटक आधा सिजन घाइते भए। तर, अप्रिलमा ह्यामस्ट्रिङको चोटबाट निको भएर फर्किएपछि उनले फुएन्टेलाई आफू युरो कप खेल्न तयार रहेको विश्वास दिलाउन सफल भए।

प्रकाशित: १ असार २०८१ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App