४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

आइसिसी टी २० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ।

शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा ११६ रनको विजयी लक्ष पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो। र इतिहास रच्नबाट चुक्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे। नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे। उनले एक चौका र एक छक्का प्रहार गरे।

कप्तान रोहित पौडेल शून्यमा बोल्ड आउट भए। दीपेन्द्र ६ रनमा आउट भए। कुशल मल्ल १, सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए।

बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्शी ४ विकेट एनरिच नोर्त्जे र ऐडेन मक्रमले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए। उनले २ चौका र १ छक्का प्रहार गरे।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हिर्काए।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे। ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए। 

सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।

पराजित भएसँगै एक खेल बाँकी छँदै अन्तिम आठमा प्रवेश गर्न असफल भएको छ। समूह ‘डी’मा रहेको नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।

प्रकाशित: १ असार २०८१ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App