३ असार २०८१ सोमबार
image/svg+xml
खेल

महत्त्वाकांक्षी विषयमा बजेट माग

आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयले स्पोटर्स साइन्स ल्याब स्थापना, खेलाडी फिटनेस सामग्री खरिद, मौलिक तथा परम्परागत खेलकुदको प्रोत्साहन र प्रतिभाशाली खेलाडीको पहिचान कार्यक्रमजस्ता महत्त्वाकांक्षी विषय खेलकुद बजेटमा समावेश गरेको छ।

तीन अर्ब १९ करोड ९९ लाख रूपैयाँको सिलिङ तोक्दै सोहीअनुरूप बजेटको प्रस्ताव तयार गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन प्राप्त भएको थियो। सोही प्रस्तावमा मन्त्रालयले केही महत्त्वाकांक्षी कार्यक्रम समेट्दै क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ। खेलाडी तन्दुरुस्ती परीक्षण, प्रशिक्षक पुनर्ताजगी कार्यक्रम, साहसिक खेल प्रवर्धन र हाई अल्टिच्युट प्रशिक्षणलाई पनि यस पटक विशेष प्रोत्साहन गरिएको छ।

यस वर्ष नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ओलम्पिक छनोट हुनुका साथै एसियाली खेलकुदमा पनि पदक जित्न सफल भइन्। पारा तेक्वान्दोको सोही सफलतालाई प्रोत्साहन गर्न मन्त्रालयले प्रशिक्षण र प्रतियोगिताका लागि १५ लाख रूपैयाँ बजेट माग गरेको छ। साथै मूलपानी र त्रिवि क्रिकेट मैदानलाई ७० करोडको बजेट माग गरिएको छ।

पोखरा क्रिकेट रंगशाला निर्माण, खेलकुद ल्याबका लागि तीन करोड र उच्च पर्वतीय अभ्यास केन्द्रका लागि सात करोड रूपैयाँ बजेट माग गरिएको छ।

विराटनगरमा क्रिकेट रंगशाला बनाउन १० करोड माग गरिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड आवश्यक छ। त्यसका लागि पनि बजेट माग भएको छ। धनगढी र कोहलपुरका क्रिकेट रंगशाला पनि बजेटमा प्राथमिकतामा परेका छन्।

आगामी आर्थिक वर्षमा हुने विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि चार करोड रूपैयाँ माग गरिएको छ। ई स्पोर्ट्सको लोप्रियता बढिरहेको अवस्थामा मन्त्रालयले यो खेल विकास लागि पनि बजेट प्रस्ताव गरेको छ।

नेपाली खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गर्दै आएका मार्सल आर्ट्सका साथै राष्ट्रिय खेल भलिबलका विभिन्न प्रतियोगिता आयोजनालाई बजेटमा समावेश गर्न माग गरिएको छ।

राष्ट्रिय खेलाडीको दुर्घटना बिमा, प्रथम पारा राष्ट्रिय खेलकुदका साथै सन् २०२६ मा हुने एसियाली खेलकुदको अभ्यासका लागि बजेट माग गरिएको छ। दशौं राष्ट्रिय खेलकुद र राष्ट्रिय कराते, रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता, महिला लिग फुटबल र ट्यालेन्ट हन्टलगायत कार्यक्रमका लागि बजेट माग गरिएको छ। 

प्रकाशित: १३ जेष्ठ २०८१ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App