१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालकाे लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

प्रिमियर कप क्रिकेटको सेमिफाइनल नजिक

क्याप्शन

लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ।

ओमानमा सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल ६ अंकका साथमा शीर्ष स्थानमा छ। याेसँगै नेपालकाे सेमिफाइनल यात्रा अब औपचारिकता मात्रै बाँकी छ। समान तीन खेलबाट हङकङको २ अंकमात्र छ। समान एक-एक खेलमा जित र हार भोगेका साउदी अरेबिया र मलेसियाको २ अंकमात्र छ। कतारले भने खाता खोलेको छैन।

समूह ए कै अर्को खेलमा अहिले मलेसिया र कतारबीच पनि खेल भइरहेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदीसँग खेल्नेछ।

ओमानको अल अमेरात स्टेडियममा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। वर्षाले खेल १८ ओभरमा छोट्याइएको खेलमा नेपालको जितमा आशिफ शेखले ४० र कुशल भुर्तेलले ३२ रन बनाए। क्याप्टेन रोहित पौडेल २५ र सन्दीप जोरा १९ रनमा नटआउट रहे।

यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङ निर्धारित ओभर सकिन एक बल बाँकी छँदा ११४ रनमा अलआउट भएको थियो।

हङकङका लागि एन्शी राथले सर्वाधिक ३४ रन बनाए। नेपालको कसिलो बलिङसामु हङकङका ७ जना ब्याटर दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केका थिए।

हङकङलाई कम योगफलमा समेट्न अविनाश बोहोराले ३ विकेट लिए। आफ्नो स्पेलमा अविनाशले २९ रन खर्चेर ३ विकेट लिएका हुन्। ललित राजवंशीको नाममा २ विकेट रह्यो। अठारौँ ओभरमा बलिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले मात्र ५ बलमा २ विकेट लिए। करण केसीले एक विकेट झारे। हङकङका २ जना ब्याट्सम्यान रन आउट भएका थिए।

प्रकाशित: ३ वैशाख २०८१ १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App