नेपाली तेक्वान्दो प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मान गरेको छ।
युएई दुबई सहरको आब्रा बरदुबई स्थित ब्लु प्यालेस होटलमा शनिवार राष्ट्रिय लोक सांस्कृतिक संघ द्वारा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्र प्रसाद सापकोटाले युएईमा रहेर आफ्नो कामका साथै युएई तेक्वान्दो संघको पहिलो नेपाली राष्ट्रिय रेफ्रि बन्न सफल भएर विभिन्न देशका खेलाडी तथा अफिसियल हरूलाई खेलकुदको माध्यम बाट नेपाललाई चिनाउँदै आएकोमा खुसी लागेको बताए।
विदेशी भूमिमा पनि चाहना भए सम्भव हुन्छ भन्ने भनाइलाई साबित गर्दै धेरै नेपाली युवाहरूको प्रेरणाको श्रोत बनेर उदाहरण पेस गरेको उनले बताए।
उक्त कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलकाली समाजका अध्यक्ष सुनिल राज श्रेष्ठ, नुवाकोट सेवा समाज युएईका अध्यक्ष नवीन कार्की लगायत विभिन्न विचारधारा बोक्ने संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधि हरूको उपस्थिति रहेको थियो।
अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा यूएसए तेक्वान्दो र यूएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरियता जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए तर कोरियाली खेलाडी सँग पराजय भोग्नु परेको थियो।
विगत एक दशक देखी युएईमा रहेका अधिकारीले हाल युएईमा तेक्वान्दोको राष्ट्रिय रेफ्री तथा प्रशिक्षक रुपमा कार्य गर्दै आइरहेका छन्। उनले अरबिक, कोरिएन्, फिलिपिन्स लगायतका खेलाडीहरूलाई प्रशिक्षण गराई रहेका छन्।
प्रकाशित: ३ वैशाख २०८१ १३:२२ सोमबार