इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सानदार जित हात पारेको छ। गयराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै चेन्नईले सानदार जित हात पारेको हो।
वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। चेन्नईका लागि कप्तान ऋतुराज गायक्वाडले सर्वाधिक ६९ रन बनाए भने नट आउट रहँदै शिवम दुवेले ६६ रनको योगदान गरे।
मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक २ विकेट लिँदा जेरान्ड कोत्जी र श्रेयस गोपालले समान एकएक विकेट हात पारे।
२०७ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले नट आउट रहँदै शतकीय पारी खेले पनि त्यो जितका लागि भने काम लागेन। मुम्बईलाई जितबाट रोक्न चेन्नईका बेबी मलिङ्गा नाम दिइएका मथिशा पाथिरानाले सर्वाधिक ४ विकेट लिए। तुषार देशपाण्डे र मुस्ताफिजुर रहमानले भने समान १/१ विकेट हात पारे।
जितसँगै चेन्नई ८ अङ्क जोडेर तेस्रो स्थानमा उक्लेको छ भने पराजित मुम्बई एक स्थान तल झर्दै ८ औँ स्थानमा पुगेको छ।
प्रकाशित: ३ वैशाख २०८१ ०६:२४ सोमबार



-600x400.jpg)

