२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्वयम्भुले दुई गोलको अग्रता जोगाउन सकेन

दुई गोलको अग्रता जोगाउन नसक्दा स्वयम्भु क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबसँग सोमबार बराबरीमा रोकिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार सम्पन्न खेलमा स्वयम्भु र गोलबजारले २–२ गोलको बराबरी खेलेका हुन्। स्वयम्भुका सुग्रित मगर र रञ्जन पुनले १/१ गोल गरे । गोलबजारका लागि आशाहाङ राई र सनम थापाले १/१ गोल फर्काए। खेलको २१औं मिनेटमा सुग्रितको गोलमार्फत स्वयम्भुले सुरूआती अग्रता लिएको थियो। दोस्रो हाफको सुरूमै रञ्जनले टोलीको अग्रता दोब्बर बनाए। तर, ५५औं मिनेटमा गोलबजार खेलमा फर्कियो। गोलबजारका आशाहाङले गोल फर्काउँदै आफ्नो टोलीलाई २–१ को स्थितिमा ल्याए।

इन्ज्युरी समयमा सनमले गोल गरेसँगै खेल २–२ को बराबरीमा सकियो। बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। सोमबारकै दोस्रो खेलमा साजनराज गौतमको निर्णायक गोलको मद्दतमा स्पोर्ट्स एकेडेमी साँगाले ‘सी’ डिभिजन लिगमा संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार सम्पन्न खेलमा साँगाले झम्सिखेल युथ क्लबमाथि १–० गोलअन्तरको जित निकालेको हो। पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरीमा खेले। तर, दोस्रो हाफको अन्तिम समयमा साँगाले गोल गर्‍यो। गौतमले खेलको ८३औं मिनेटमा गरेको एक मात्र गोल साँगालाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै साँगाले तीन अंक जोडेको छ।

प्रकाशित: २७ चैत्र २०८० ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App