२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ। मच्छिन्द्रले घरेलु टोली साङ्ग्रिला मोरङ एफएलाई पराजित गर्दै उपाधि जितेको हो।

विराट गोल्डकप ट्रस्टले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा मच्छिन्द्रले मोरङलाई २–० गोलले पराजित ग¥यो। उपाधि जित्दै मच्छिन्द्रले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। खेलको अन्तिम ७ मिनेट आफूलाई सम्हाल्न नसक्दा घरेलु टोली मोरङ उपविजेता हुँदै ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्‍यो।

मच्छिन्द्रले पहिलोपटक विराट गोल्डकप जितेको हो। मच्छिन्द्रले यस सिजनमा ‘ए’ डिभिजन लिगसहित सातवटा प्रतियोगितामा भाग लिएको थियो। लिगमा उपविजेता भयो भने केपी ओली कप र बाग्मती गोल्डकपको उपाधि हात पारेको छ। धरानमा भएको बुढासुब्बा गोल्डकपमा मोरङ उपविजेता बनेको थियो।

निर्धारित ९० मिनेटमा दुवै टोली गोलरहित बराबरी खेलेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो। थपिएको समयमा मोरङका रक्षापंक्तिका खेलाडी अभिषेक लिम्बु घाइते भएपछि उनी मैदानबाट बाहिरिएका थिए। लिम्बु बाहिरिएपछि मोरङको रक्षापंक्ति कमजोर भएको फाइदा उठाउँदै मच्छिन्द्र गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।  

उपाधि जितमा मच्छिन्द्रका छिरिङ गुरूङ र युसुप थपलिया नायक बने। ११३औं मिनेटमा युसुप थपलियाले प्रहार गरेको कर्नर बललाई मोरङका गोलरक्षक विशाल सुनारले पञ्चले पन्छाएको बललाई छिरिङले हेडमार्फत गोल गरेका थिए।

खेलको अन्तिम समय ११९औं मिनेटमा मच्छिन्द्रका लागि युसुप थपलियाले गोल थप्दै संख्या दोब्बर पारे। उनले बक्स अगाडिबाट लामो प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो। प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बुले ११ हजार रुपैयाँ प्राप्त गरे।  

व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्ष मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन भए। उनीहरुले जनही २१ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिला मोरङका महेन्द्र कार्कीले मोटरसाइकल पुरस्कार पाए।  

मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोल खानु पर्‍यो। कप्तान अभिषेक लिम्बु खेल मैदानबाट बाहिरिएपछि डिफेन्स लाइन फितलो हुँदा पराजय भोग्नुपर्‍यो। कप्तान अभिषेक लिम्बुका अनुसार मच्छिन्द्र एउटा सेट टोली भएको र निरन्तर त्यही सेट खेल्दा बलियो भएकाले केही दबाब झेल्नुपरेको थियो। साथीहरुले पाएको गोलको अवसर चुकाउनु पनि हारको अर्को कारण हो।  

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले निर्धारित समयमा दुवै टोली आक्रामक रुपमा खेले पनि कसैले गोल गर्न नसकेको बताए। उनले भने, ‘त्यसमा समयमा गोल गर्न सफल नभए पनि अतिरिक्त समयमा दुई गोल गर्न सफल भएकाले उपाधि जित्यौं।’

घरेलु टोलीलाई उसकै मैदानमा पराजित गर्न गाह्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हाम्रो टोली मानसिक रुपमा तयार भएर मैदानमा उत्रिएको उनको भनाइ छ। उनी भन्छन्, ‘दर्शक हाम्रो टोलीको पक्षमा पनि धेरै रहेको र त्यसले थप बल मिलेको महसुस भयो।’

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न हामी सुरुबाटै मानसिक रुपमा तयार रहेको बताए। दबाबका बाबजुद पहिलोपटक विराट गोल्डकपको उपाधि जित्न सफल भयौं, यो  हाम्रा लागि गौरवको विषय हो।’  

प्रतियोगिताका खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीलगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २५ चैत्र २०८० ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App