१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

आईपीएल २०२४ः यी टिमका दिग्गजले फिर्ता लिए नाम

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी २२ मार्चबाट सुरु हुँदैछ। तर, आईपीएल २०२४ का लागि छनोट भएका केही दिग्गज खेलाडीहरू भने खेल्न नपाउने भएका छन्।

मोहम्मद शमी, मार्क वुड, जेसन रोय, ह्यारी ब्रुक जस्ता दिग्गज खेलाडी यस सिजनका केही खेल वा सिजनकै पुरै खेलमा सहभागी नहुने भएका हुन्।

गुजराज टाइटन्सका तीव्र गतिका बलर मोहम्मद शमी चोटका कारण आईपीएलको पुरै सिजनबाट बाहिरिएका छन्। उनी टी–२० विश्वकपमा पनि सहभागी नहुने भएका छन्।

शमीको केही दिन अघि मात्रै लण्डनमा शल्यक्रिया भएको छ। शमीको रिप्लेसमेन्टबारे गुजरातले हालसम्म औपचारिक रुपमा जानकारी दिएको छैन।

त्यसबाहेक अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेड पनि सुरुआती १/२ खेलमा सहभागी नहुने भएका छन्। घरेलु शिल्ड टुर्नामेन्टको फाइनलमा खेल्नु पर्ने भएकाले गुजरातको तर्फबाट छनोट भएका म्याथ्यू पछिल्ला खेलमा भने सहभागी हुनेछन्।

केएल राहुलको कप्तानीमा रहेको लखनउ सुपर जायन्ट्सलाई पनि झट्का लागेको छ। इङ्ग्ल्यान्डका स्टार तीव्र गतिका बलर मार्क वुड पनि आईपीएलमा सहभागी नहुने भएका छन्। जुनमा टी–२० विश्वकपमा खेल्नु पर्ने भएकाले इङ्ग्लीस बोर्डले उनको नाम आईपीएलबाट फिर्ता लिएको हो।

सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थान रोयल्सलाई पनि झट्का लागेको छ। टिमका स्टार तीव्र गतिका बलर प्रसिद्ध कृष्णा आईपीएल सिजनबाट बाहिरिएका छन्। चोटका कारण उनी आईपीएलको यस सिजनमा सहभागी नहुने भएका हुन्।

कोलकोत्ता नाइट राइडर्सका लागि छनोट भएका जेसन रोय र गस एटकिन्सनले पनि आफ्नो नाम आईपीएलबाट फिर्ता लिएका छन्। जेसनले व्यक्तिगत कारण बताउँदै नाम फिर्ता लिएका छन् भने जुनमा टी–२० विश्वकप खेल्नुपर्ने भएकाले गसले नाम फिर्ता लिएका हुन्। इङ्ग्लीस बोर्डले नाम फिर्ता लिन भनेपछि गसले नाम फिर्ता लिएको बताइएको छ। जेसनको स्थानमा इङ्ग्ल्यान्डका फिल साल्ट र गसको स्थानमा श्रीलङ्काका दुश्मन्था चमिरालाई रिप्लेस गरिएको छ।

पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सलाई पनि झट्का लागेको छ। चेन्नईका डेवन कन्वे बुढि औँलामा चोट लागेका कारण ८ हप्तासम्मको खेलमा सहभागी नहुने भएका छन्। त्यसपछि भने उनी खेलमा सहभागी हुने बताइएको छ।

ऋषभ पन्तको दिल्ली क्यापिटल्सका स्टार ब्याट्सम्यान ह्यारी ब्रुक पनि बाहिरिएका छन्। ४ करोडमा ब्रुकलाई दिल्लीले खरिद गरिएको थियो। अब दिल्ली उनको रिप्लेसमेन्ट खोजिरहेको छ। ब्रुकले निजी कारण भन्दै नाम फिर्ता लिएका छन्।

टी–२० क्रिकेटको पहिलो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादव मुम्बई इन्डियन्सको सुरुआती केही म्याच खेल्न नपाउने भएका छन्। चोटका कारण केही समय अघि मात्रै शल्यक्रिया भएकाले उनी पछिल्लो म्याचहरू मात्रै खेल्न पाउने भएका छन्।

प्रकाशित: १ चैत्र २०८० १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App