२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दशरथ रंगशाला खराब भएपछि घरेलु मैदान छोड्न बाध्य भयो नेपाली टिम

दशरथ रंगशालाको मैदानको स्तर खराब भएपछि नेपाली टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त खेल प्रतिस्पर्धी देशमै गएर खेल्नु पर्ने भएको छ।

बहराइनविरुद्ध घरेलु मैदानमै खेल्नुपर्ने खेल दशरथ रंगशालाको मैदान स्तरीय नभएका कारण बहराइनमै गएर खेल्नुपर्ने भएको हो। घरेलु मैदान गुमाउनु पर्दा खेलको परिणाममा समेत असर पर्न सक्ने आकलन गरिएको छ।  

नेपालको प्रतिस्पर्धी टिम बहराइनले दशरथ रंगशालाको मैदानको स्तरमा प्रश्न उठाएपछि एएफसीले यसको अध्ययन गर्न आफ्नो प्रतिनिधि नेपाल पठाएको थियो। ती प्रतिनिधिले रंगशालाको मैदानलगायतको अध्ययन गरेर गएका थिए। अध्ययन टोलीले पनि रंगशालाको मैदान उपयुक्त नभएको ठहर गर्दै रिपोर्ट बुझाएपछि यो खेल बहराइनमै खेल्नुपर्ने भएको हो।

‘अब यो खेल बहराइनमै हुनेछ’, एन्फाका महासचिव किरण राईले नागरिकन्यूजसँग भने। उनका अनुसार एएफसीको अध्ययन टोलीले दिएको रिपोर्ट अनुसारै यो खेल बहराइनमा खेल्नु पर्ने भएको हो।

नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत यो खेल घरेलु मैदानमै खेल्नुपर्ने प्रावधान हुँदाहुँदै  स्तरीय मैदान नभएकै कारण प्रतिस्पर्धी देशकै रंगशालामा खेल्नुपर्ने भएको हो।

निर्धारित तालिकाअनुसार छनोटको दोस्रो चरणअन्तर्गत यो खेल आगामी चैत ८ गते नेपालकै घरेलु मैदानमै खेल्नु पर्ने थियो। तर अब बहराइन खेलिने भएको छ। छनोट खेलको दोस्रो चरणमा नेपाल समूह एचमा छ। नेपालले यसअघि युएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो।

अब नेपालले बहराइनसँगका दुई वटै खेल उसैको मैदानमा खेल्नुपर्ने भएको छ। त्यसपछिको युएईसँगको होम म्याच र यमनसँगको अवे म्याच आगामी जुनमा हुने जानकारी एन्फाले दिएको छ। 

प्रकाशित: २८ फाल्गुन २०८० १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App