१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘हङकङ शृंखलामा युवालाई अवसर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङमा हुने त्रिदेशीय टी–२० आई शृंखलामा युवा खेलाडीका लागि अवसर हुने धारणा राखेका छन्।

आगामी शनिबारदेखि नेपालले हङकङमा घरेलु टोली र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिदेशीय टी–२० आई शृंखला खेल्दै छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यस शृंखलामा नियमित सदस्यलाई आराम दिँदै युवा र नेपाल ‘ए’ सदस्यलाई अवसर दिएका छन्। मोन्टीले ओपनर आसिफ शेख, अलराउन्डर कुशल मल्ल, अनिल साहका साथै अनुभवी सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडीलाई आराम दिएका हुन्। कप्तान रोहितले बिहीबार भएको बिदाई कार्यक्रममा युवा खेलाडीका लागि हङकङको शृंखला अवसर हुने विश्वास व्यक्त गरेका हुन्।

नेपाल आगामी जुनदेखि अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने ट्वान्टी–२० विश्वकपको तयारीमा छ। सोही विश्वकप तयारीका लागि नेपालका प्रशिक्षक मोन्टीले हरेक शृंखलामा नयाँ खेलाडीलाई अवसर दिँदै प्रयोग गरिरहेका छन्। यसै विश्वकपको तयारीका लागि सरकारले पनि पाँच करोड रूपैयाँ बजेटमा बिनियोजन गरिसकेको छ। कप्तान रोहितले  

ट्वान्टी–२० विश्वकप अगाडि हङकङ शृंखला निकै उपयोगी हुने विश्वास लिएका छन्। उनले यसअघि घरेलु मैदानमा सम्पन्न टी–२० आई शृंखला त्यति राम्रो नभएको पनि स्विकार गरे। यद्यपि, ती खेलमा सानो अन्तरका हार भएकाले केही सुधार गर्न सकेमा आगामी शृंखला सुखद हुने उनको विश्वास छ।  

प्रशिक्षक मोन्टीले पनि नेदरल्यान्ड्स र नामिबियासँगको शृंखलामा भएका हारबाट हतास हुन नपर्ने उल्लेख गरे। नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य अन्जन धमला, प्रकाश कुसारी र नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले बिदाइ गरेका थिए। सो अवसरमा राखेप सदस्यसचिव घिसिङले नेपाली क्रिकेट हाल सफलताको चुचुरोमा रहेकाले सबैका ध्यान गएको उल्लेख गर्दै सोहीअनुरूप खेलाडीबाट धेरै आशा गरिएको धारणा राखे।

साथै उनले विश्वकप तयारीका लागि बजेट निकासा भैसकेको र थप आवश्यक परेमा त्यो पनि उपलब्ध हुने विश्वास व्यक्त गरे। क्यानका उपाध्यक्ष सिंहले विश्वकप खेल्ने हरेक खेलाडीलाई सरकारले आवासको व्यवस्था गर्न सके उनीहरूले थप मनोबलका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। नेपालले शृंखलाको पहिलो खेल घरेलु टोली हङकङविरुद्ध फागुन २७ गते खेल्नेछ। फागुन २९ गते नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुने तय छ।  

लिगचरणमा एकअर्कासँग प्रतिस्पर्धापछि शीर्ष दुई टोलीबीच फागुन ३० गते उपाधि भिडन्त हुनेछ।

प्रकाशित: २५ फाल्गुन २०८० ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App