युवाहरू वैदेशिक रोजगारीमा गएर विदेशबाट आउने रेमिटेन्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ। एक महिनाकै अवधिमा करिब दुई खर्ब रेमिटेन्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुसमा मात्र एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पोहोरको सोही महिनामा विप्रेषण–आप्रवाह एक खर्ब २२ अर्ब रुपैयाँ मात्र थियो। पोहोरको तुलनामा पुसमा रेमिटेन्स आप्रवाह ७० अर्बले बढेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा करिब साढे १० खर्ब बढी रेमिटेन्स आएको छ। पोहोरको तुलनामा यो वर्षको पुससम्म रेमिटेन्स ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। ६ महिनामा दुई लाख ६ हजार आठ सय सात जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत लिएका छन्। पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजार ७३३ रहेको छ।
मुलुकको अर्थतन्त्रका सूचक अपेक्षित रूपमा सुधार नदेखिए पनि बाह्य सूचक भने मजबुत रहेको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ। विदेशी विनिमय सञ्चिति पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा ६ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ।
६ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहनेछ। पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत छन्।
त्यसैगरी समीक्षा अवधिमा चालु खाता चार खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६५ अर्ब ६७ करोड रुपैयाँले बचतमा थियो। यो अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार अर्ब २९ करोड थियो। त्यसैगरी पुससम्म आठ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ४८ करोड रुपैयाँ भित्रिएको थियो।
त्यसैगरी शोधनान्तर स्थिति पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा थियो।
घट्यो महँगी
नेपाल राष्ट्र बैंकका अनुसार पोहोरको तुलनामा महँगी घटेको छ। पुस मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक छ भने खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो। ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२० प्रतिशत, घ्यु तथा तेलको ४.९६ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। दाल तथा गेडागुडी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ।
त्यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.७५ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको३.८५ प्रतिशतले बढेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८ प्रतिशत, तराईको २.६५ प्रतिशत, पहाडको १.९४ प्रतिशत र हिमालको २.६६ प्रतिशत रहेको छ।
प्रकाशित: २० माघ २०८२ ०६:४७ मंगलबार




