४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सद्भावको शीर्ष स्थान कायमै

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल च्यालेन्जमा बुधबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राखेका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को पाँचौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन पनि युवा गल्फर सद्भावले अग्रता कायमै राखेका हुन्। रोयल नेपाल गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन सद्भावले चार अन्डर ६४ को उत्कृष्ट प्रदर्शनसहित तेस्रो दिनको खेल पूरा गरेपछि अग्रता जोगाएका हुन्।

उनी समग्रमा सात अन्डर १९७ को कार्डमा छन्। यो नतिजापछि उनले पूर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारे। रविको तेस्रो दिन तीन अन्डर ६५ को प्रदर्शन रह्यो। उनी समग्रमा चार अन्डर २०० को कार्डमा छन्।

दिनकै उत्कृष्ट स्कोर कार्ड बनाएपछि भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिएका छन्। भुवनले पाँच अन्डर ६३ स्कोर गरे। समग्रमा उनी तीन अन्डर २०१ को स्कोर कार्डमा छन्। धनबहादुर थापाले इभन पार ६८ रहेर तेस्रो दिनको खेल सकाए।

समग्रमा भने उनी दुई अन्डर २०२ सहित चौथो स्थानमा खुम्चिए। भेट्रान प्रोफेसनल दीपक मगरले तीन अन्डर ६५ मा तेस्रो दिनको खेल सकाए। उनी समग्रमा इभन पार २०४ को नतिजासँगै पाँचौं स्थानमा उक्लिए। समग्रमा दुई ओभर २०६ सहित सञ्जय लामा छैटौं स्थानमा छन।

सञ्जयले तेस्रो दिन एक अन्डर ६७ को प्रदर्शन गरे। विष्णुप्रसाद शर्मा सातौं स्थानमा उक्लिए। तेस्रो दिन चार अन्डर ६४ को उत्कृष्ट नतिजासहित विष्णु समग्रमा तीन ओभर २०७ को कार्डमा छन्।

 एमेच्योर टासी छिरिङ र प्रोफेसनल रामे मगर आठौं स्थानमा छन्। दुवै समग्रमा चार ओभर २०८ को कार्डमा छन्। टासी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन्। पहिलो दिनका लिडर रामेले पाँच ओभर ७३ को खराब प्रदर्शन गरे। समग्रमा पाँच ओभर २०९ सहित भुवनकुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले दशौं स्थान बाँडे।

चार दिनसम्म चल्ने प्रतियोगिता कुल ७२ होलमा प्रतिस्पर्धा भैइरहेको छ। प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले नगद १ लाख, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६७ हजार र ४८ हजार पाउनेछन्।

चौथो हुनेलाई ४० हजार र पाँचौं हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।  

प्रकाशित: २४ फाल्गुन २०८० ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App