१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘डेथ’ ओभरमा करणलाई बलिङ दिने चुनौतीपूर्ण निर्णय

‘डेथ’ ओभरमा करण केसीलाई बलिङ गराउने चुनौती लिएको नेपाल नामिबियामाथि रोमाञ्चक जितसँगै घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० आई शृंखलामा फर्किएको छ।

नेपालले पहिलो दुई खेल गुमाइसकेको थियो। त्यसैले शृंखलाको फाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्थामा थियो, घरेलु टोली। सुधारिएको ब्याटिङपछि नेपालले नामिबियालाई १८१ रनको राम्रो लक्ष्य दियो। तर, बलिङमा भने खराब लय बिर्सन सकेको थिएन नेपालले। १५औं ओभरसम्म नामिबियाका ब्याटर हाबी रहे। यही ओभरमा करणले तीन छक्कासहित कुल २३ रन बेहोरे। त्रिवि क्रिकेट मैदानमा लक्ष्य पछ्याएको नामिबियालाई रोक्न नेपालका कप्तान रोहितकुमार पौडेलले १६औं ओभरमा दीपेन्द्रसिंह ऐरीलाई ल्याए। उनको यो निर्णय उत्कृष्ट साबित भयो।

किनकि यही ओभरमा दीपेन्द्रले दुई विकेट लिँदा दुई रन मात्र दिए। यस क्रममा उनले आक्रामक ब्याटिङ गरेका कप्तान जेजे स्मिथलाई ५० रनमा पभेलियन फर्काए। उनको अर्का सिकार हुन पुगे जान निकोल लोफ्टी इटन। पहिलो खेलमा नेपालविरुद्ध उनले शतक बनाएका थिए। कप्तान रोहितको १७औं ओभरमा अविनाशलाई बलिङ गराउने निर्णय पनि सही साबित भयो। यो ओभरमा अविनाशले लयमा रहेका अर्का ब्याटर जान फ्रिलिन्क (३७ रन) को विकेट लिँदै ठूलो सफलता दिलाए। यसमा उनले पाँच रन मात्र दिए।

तर, १८औं र १९औं ओभरमा क्रमश: दीपेन्द्र र अविनाशलाई ल्याउने रोहितको निर्णय भने सही साबित भएन। यो दुई ओभरमा नेपालले बिनाविकेट २९ रन खर्चियो। यससँगै नामिबियाको जित सहज देखियो। डेथ ओभरमा नामिबियालाई १२ रन आवश्यक पर्‍यो। यस्तो अवस्था कप्तान रोहितले चुनौती लिए। महँगा बनिसकेका करणलाई जिम्मेवारी दिने। करणले तीन ओभरमा नै ४१ रन दिइसकेका थिए। त्यसैले रोहितको निर्णय चुनौतीपूर्ण नै थियो। करणकै महँगा ओभरका कारण नामिबिया १५औं ओभरमा हाबी बनेको थियो। जुन धारणा खेलपछिको पत्रकार सम्मेलनमा करण आफैंले पनि राखेका थिए।

‘मैले नै खेल फसाएको थिएँ। अब मैले नै जोगाउन पर्छ भन्ने लाग्यो। कप्तान रोहितले पनि विश्वास गरेर जिम्मेवारी दिए। यो खेल जोगाउँछु भन्ने आत्मविश्वास पनि थियो। सोहीअनुरूपमा बलिङ गरेँ,’ जितपछि करणले भने। डेथ ओभरमा नामिबियालाई १२ रन आवश्यक थियो। तर, अनुभवी करणले एक विकेटसँगै ८ रन मात्र दिए र नेपालले तीन रनको साँघुरो जित निकाल्यो। रोहितको चुनौती पनि जितमा परिणत भयो। तेस्रो खेलमा रोमाञ्चक जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना बनायो।

अब नेपालले अन्तिम खेल शनिबार नै नेदरल्यान्ड्ससँग खेल्नेछ। यो खेल जितेमा नेपाल फाइनल पुग्ने सम्भावना बलियो हुनेछ। हारले भने नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल कुर्नुपर्नेछ। लक्ष्य पछ्याएको नामिबियाको सुरुआत राम्रो हुन सकेन। ओपनरद्वय माइकल भान लिङ्गेन १० र मलान क्रुगर ३ रनमा नै पभेलियन फर्किए। तर, त्यसपछि तीन ब्याटरले इनिङ समाले। जेपी कोट्जेले २५ रन जोड्दा जान फ्रिलिन्क र स्मिथले लामो इनिङ खेले। १५औं ओभरसम्म नामिबिया हाबी रह्यो। तर, १६औं र १७औं ओभरमा नेपालले स्मिथ, इटन र फ्रिलिन्कजस्ता ब्याटरलाई पभेलियन फर्काउँदै खेलमा पकड बनायो।

त्यसपछिका दुई ओभरमा नामिबिया हाबी हुँदा खेल रोमाञ्चक मोडमा पुग्यो। डेथ ओभरमा करणको अनुभवी बलिङपछि नेपालले रोमाञ्चक जित प्राप्त गर्‍यो। जान ग्रिन २३ रनमा अविजित रहे पनि कुनै खतरा बनेन। नेपालको बलिङमा सोमपाल कामी, दीपेन्द्रसिंह र करणले दुई विकेट लिए र महँगा पनि भए। अविनाशको नाममा एक विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको सुरुआत पनि खराब रह्यो। तर, युवा ब्याटर कुशल मल्ल, गुल्सन झा र अनुभवी आरिफ सेखको साथ पायो।

त्यससँगै नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८० रनको योगफल बनायो। यो खेलमा नियमित ओपनर कुशल भुर्तेललाई आराम दिँदा आसिफ सेख र अनिल साहले ओपनिङ जिम्मेवारी पाए। तर, यो निर्णय सफल भएन र दोस्रो ओभरमै आसिफ आउट भए। कप्तान रोहित पनि १० रनमै पभेलियन फर्किए। ओपनर अनिल पनि २३ रनमा आउट भए। त्यससँगै ६.६ ओभरमा ५८ रन जोड्दा तीन ब्याटर पभेलियन फर्किए। तर,  नेपालले त्यस पछिका ब्याटरबाट साथ पायो। कुशल ५५ रनमा नटआउट रहे।

उनको यो इनिङ म्यान अफ दी म्याचका लागि योग्य पनि भयो। आरिफ शेखले ३१ रन, गुल्सन झाले २६ रन र दीपेन्द्रले १६ रन बनाए। कुशलले ३७ बलमा चार छक्का र एक चौका हिर्काए। कुशल र आरिफबीच पाँचौं विकेटका लागि ८५ रनको साझेदारी भयो र यसपछि नेपालले इनिङ उकास्यो। नामिबियाको बलिङमा बेन सिकोन्गोले तीन विकेट लिँदा ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलमेन, लोफ्टी इटन र बेर्नार्ड स्कल्ट्जले समान एक विकेट निकाले। यसअघि नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्ससँग दुई रनको पराजय ब्यहोरेको थियो। नामिबिया नेदरल्यान्ड्सँग ५९ रनले पराजित भएको थियो।

डेथ ओभरमा नामिबियालाई १२ रन आवश्यक थियो। तर, अनुभवी करणले एक विकेटसँगै ८ रन मात्र दिए र नेपालले तीन रनको साँघुरो जित निकाल्यो।    

प्रकाशित: १८ फाल्गुन २०८० २०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App