२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्रीति भन्छिन्ः सेमिफाइनलको गोल उपाधी जितेपछि मात्रै सार्थक हुन्छ

वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपालले पाँच पटकको विजेता जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। साउदी अरबमा जारी च्याम्पियनसिपको अन्तिम खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपालले कुनैपनि खेल गुमाएको छैन भने आजको खेल उसका लागि निकै महत्त्वपूर्ण छ। कारण, नेपालले पहिलो पटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाइरहेको छ।

हालसम्म ४ खेल खेलेको नेपालले ४ वटैमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको छ। प्रतियोगितामा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीमाथि सबैको नजर थियो। उनको प्रदर्शनले सबैलाई उत्साहित बनायो भने अन्य खेलाडीको पनि प्रदर्शन प्रशंसनीय छ। तर, सेमिफाइनलमा नेपाललाई जित दिलाएकी प्रीति राईको पछिल्लो समय निकै चर्चा भइरहेको छ।

बुधवार राति भएको सेमिफाइनलमा आत्मघाति गोलका कारण १–० ले पछि परेको नेपाललाई सावित्राले बराबरीमा ल्याइन् भने इन्जुरी समयमा प्रीतिको गोलले नेपाललाई उपाधी नजिक पुर्‍यायो।

सेमिफाइनलसम्म खेलेकी सावित्रा फाइनल नखेल्ने भएकी छिन् भने प्रीतिले फाइनल जित्ने लक्ष्य आफ्नो रहेको बताएकी छिन्।

फिफाको विन्डो भित्र नपर्ने हुनाले सावित्रा फाइनल खेल खेल्न नपाउने भएकी हुन्। सावित्रा जोर्डनविरुद्धको फाइनल खेल छाडेर आफू आबद्ध क्लब एना भानमा गुइनगाम्पमा फर्किनु पर्ने भएको छ।

‘फिफाको नियमले गर्दा उनी फाइनल खेल खेल्न नपाउने भएकी हुन’, एन्फा स्रोतले भन्यो। अखिल नेपाल फुटबल संघ एन्फाले पनि सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिइसकेको छ।

आबद्ध क्लब र सावित्राबीचको सम्झौतामा भने फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने सहमति छ। तर, फिफाको नियमले गर्दा उनी फाइनल खेल्नबाट वञ्चित भएकी हुन्।

सावित्राले जारी प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी छिन्। ईराकविरुद्धको खेलमा सावित्रा एक्लैले ५ गोल हानेकी थिइन्। उनी बिनाको आजको नेपाली टिमको प्रदर्शन कस्तो रहने छ भन्ने पनि हेर्नु दर्शकका लागि रोमाञ्चक हुनेछ।

यता, सेमिफाइनलमा निर्णायक गोल गरेकी प्रीतिले आफूले गरेको गोलको महत्त्व उपाधी जितेपछि मात्रै सार्थक हुने बताएकी छिन्।

सेमिफाइनल खेलपछि पत्रकारसँग कुराकानी गर्दै प्रीतिले उपाधी नजितेसम्म आफ्नो लक्ष्य पूरा नहुने भएकाले फाइनल खेल निकै महत्त्वपूर्ण रहेको बताइन्।

पहिलोपटक वाफ च्याम्पियनसिपमा खेल्न पाउनु गर्वको कुरा रहेको भन्दै उनले फाइनलमा उपाधी जितेर नेपाललाई विश्व फुटबल जगतमा थप चिनाउन मद्दत पुग्ने बताइन्।

प्रकाशित: १७ फाल्गुन २०८० १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App