१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

प्रीतिको त्यो गोल जसको सर्वत्र चर्चा हुँदैछ

फाइल तस्बिर

साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालको प्रदर्शनले विश्वस्तरमै चर्चा पाइरहेको छ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपालले जारी प्रतियोगितामा हालसम्म कुनैपनि खेलमा पराजयको सामना गर्नुपरेको छैन।

सेमिफाइनलमा आत्मघाती गोल गरेर पनि लेबनानलाई पराजित गरेको नेपाली महिला टोलीको सराहना गर्ने क्रम बढेको छ भने बधाई र शुभकामना दिने क्रम पनि जारी छ।

मङ्गलवार सेमिफाइनल खेल सुरु भएको ३७ औँ मिनटमा नेपालले आत्मघाती गोल गर्‍यो। नेपालकी पूजा राना मगरले आफ्नै गोलपोस्टमा गोल गरेपछि नेपाली टोली तनावमा आयो। तर, फरवार्ड सावित्रा भण्डारी र प्रिति राईले नेपाललाई इन्जुरी समयमा फाइनलमा पुर्‍याइन्।

पहिलो हाफमा डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल १–० ले पछि परेको थियो। दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्‍यो। खेलको ७६औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई बराबरीको स्थितिमा ल्याइन्। लेबनानी गोलकिपरले बललाई रोक्न खोजेपनि सावित्राले चलाखीपूर्ण सट हान्दै गोल गरिन्।

निर्धारित समय सकिँदै गर्दा बराबरीतर्फ अग्रसर भइरहेको खेलमा प्रिती राईले ५ मिनेटको इन्जुरी टाइममा गोल गर्दै नेपाललाई जित दिलाइन्।

इन्जुरी टाइममा नेपालले पाएको कर्नरमा बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सिधै गोलमा परिणत भयो। प्रितिले नेपालको जितका लागि गरेको गोलको अहिले निकै चर्चा भइरहेको छ। गोलपोस्टमा गोलकिपर र गोल रक्षाका लागि जोर्डनका खेलाडी तैनात भएपनि उनको सटलाई कसैले छेक्न सकेन र बल सिधै गोलपोस्टमा गयो।

अब नेपालले भोलि उपाधीका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। ५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डन र नेपालबीचको खेल साउदी अरबस्थित प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गरेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गरेको हो।

जारी प्रतियोेगितामा नेपालको उत्कृष्ट प्रदर्शन रहेको हुँदा भोलिको उपाधी खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। जारी प्रतियोगितामा ९ गोल गरेकी नेपालकी फरवार्ड सावित्रा भण्डारीमाथि भोलिको खेलमा सबैको ध्यान हुनेछ। त्यसबाहेक पनि नेपालकी प्रिति राई, समिक्षा घिमिरे, अमृता जैशी लगायत अन्य खेलाडीमाथि पनि नजर रहने छ।  

प्रकाशित: १६ फाल्गुन २०८० १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App