१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

नामिबियाको नेपाल भ्रमण सुखद

नेदरल्यान्ड्सविरुद्ध जित निकालेपछि नामिबियाको टोली। तस्बिर: क्यान

नामिबियाले शुक्रबार नेदरल्यान्ड्समाथि जित निकाल्दै आइसिसी विश्वकप लिग–२ को नेपाल भ्रमण सुखद बनाएको छ।

नामिबिया घरेलु टोली नेपालसहित नेदरल्यान्ड्ससँगको त्रिदेशीय शृंखलामा कुल चार खेलबाट सर्वाधिक ६ अंक बटुल्दै घर फर्किंदै छ। शृंखलाको आफ्नो अन्तिम खेलमा नामिबियाले नेदरल्यान्ड्समाथि २४ रनको जित निकाल्दै तेस्रो सफलता प्राप्त गरेको हो।

 यता, अन्तिम खेल बाँकी छँदा नेपाल र डच टोली भने दोस्रो जित निकाल्ने लक्ष्यमा छन्। त्यसैले नामिबियाले यो शृंखला आफ्नो पक्षमा पार्दै आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल भ्रमण सुखद बनायो। पराजित नेदरल्यान्ड्सको तीन खेलबाट दुई अंक छ।

कीर्तिपुरमा भिजेको मैदानका कारण शुक्रबार समयमा खेल सुरु हुन सकेन। उक्त खेल ४५ ओभरमा छोट्याइएको थियो। सोही खेलअन्तर्गत त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३.५ ओभरमा १७९ रनमै समेटियो।

यो शृंखलामा पहिले ब्याटिङ गर्ने टोलीले दिएको यो नै सर्वाधिक ठूलो लक्ष्य हो। नेदरल्यान्ड्सका नोआ क्रस ४६ रनमा अविजित रहे पनि जित निकाल्न असफल रहे। एक समय डच टोली जितनजिक थियो। डच टोलीलाई जितका लागि १८ बलमा २८ रन आवश्यक हुँदा तीन विकेट हातमा थियो।

तर, ४३औं र ४४औं ओभरमा डच टोलीले अन्तिम तीन विकेट गुमाउन पुग्यो र नामिबियाले तेस्रो जित निकाल्यो। नेदरल्यान्ड्सले पहिलो ओभरमा नै ओपनर मिकाइल लेभितलाई शून्यमा नै गुमायो। तर, अर्का ओपनर म्याक्स ओ डाउडले इनिङ समाले।

 उनले दोस्रो विकेटका लागि साइब्रान्ड एंगलब्रेक्टसँग ३४ रन र तेस्रो विकेटका लागि बास डे लिडेसँग ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका हुन्। तर, ओ डाउड ४१ रनमा आउट भए। उनले चार चौका र एक छक्का प्रहार गरे।

डाउडको विकेटसँगै डच टोली २३.४ ओभरमा ९१/४ को मध्यम अवस्थामा थियो। तर, नोआबाहेक थप ब्याटर चल्न नसक्दा नेदरल्यान्ड्सले हार बेहोर्‍यो।

डी लिडेले २४ रन, सरिज अहमदले १९, तेजा निदामनुरुले १४ र साइब्रान्डले १० रन बनाए पनि त्यो पर्याप्त भएन। नामिबियाको बलिङमा ज्यान फ्रिलिन्क र कप्तान जेरार्ड इरास्मसले समान तीन विकेट लिए।

अलराउन्ड प्रदर्शन गरेका फ्रिलिन्क म्यान अफ दी म्याच घोषित भए। बेर्नार्ड स्कल्ट्जले दुई तथा रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी इएटनले समान एक विकेट लिँदै डच टोलीको इनिङलाई रोके।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबिया ४१.३ ओभरमा २०३ रनमा नै अलआउट भयो। नामिबियाका जान निकोल लोफ्टी इएटनले ४९ रन, मलान क्रुगरले ३९ रन, फ्रिलिन्कले ३४ रन जोड्दा ट्रम्पलमेन २३ रनमा नटआउट रहे। जान ग्रिनले २२ रन, कप्तान इरास्मसले १२ र माइकल भान लिंगनले १० रन बनाए।

नेदरल्यान्ड्सको बलिङमा भिभियन किंगमाले तीन, आर्यन दत्त र रोलोफ भान डेर मार्वीले समान दुई तथा सरिज अहमद र एंगलब्रेक्टले समान एक विकेट लिए। 

प्रकाशित: १२ फाल्गुन २०८० १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App