१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

मादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता

कास्कीको मादी गाउँपालिकाको स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। मादी गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर यहि फागुन २७ गतेदेखि २९ गतेसम्म गण्डकी प्रदेशभरका गाउँपालिकाले सहभागिता जनाउन पाउने गरी अन्तरपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

प्रतियोगितामा गण्डकी प्रदेशभरिका गाउँपालिकाले सहभागिता जनाउने मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए। प्रतियोगितामा स्थानिय गाउँपालिकामा बसोबास गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै खेलाडी समावेश गरेर सहभागिता जनाउनसक्ने उनले बताए।

प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख, उपबिजेताले २ लाख, तृतीय हुनेले १ लाख र चौथो हुनेले सान्त्वना स्वरुप नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए। त्यस्तै, बेष्ट स्पाइक, डिफेन्स, लिबेरो लगायतका विधामा उत्कृष्ट हुनेलाई पनि नदगसहित पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए।

स्थापना दिवसको अवसरमा फागुन २७ गते झाँकीसहितको प्रदर्शनी गरिने गाउँपालिकाले जनाएको छ। सो अवसरमा स्थानिय कलाकारहरुको स्वागत गीत, स्वागत नृत्य, जनप्रतिनिधिको स्वागत नृत्य लगायतका कार्यक्रम रहेको उनले जानकारी दिए।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले ज्येष्ठ नागरिकहरु मध्येको सबैभन्दा वृद्धवृद्धा एकएक जनालाई ग्रामपिता र ग्राममाताको उपाधिसहित सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगितापनि गरिने पनि उनले बताए। शिक्षकलाई समयअनुकुल ‘अपडेट’ भइराख्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वयम्सेविका, उत्कृष्ट कृषक, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट टोल सुधार समिति, उत्कृष्ट सहकारी लगायत घोषणा गरी पुरस्कृत गर्ने गाउँपालिकाले बताएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App