२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वाफ च्याम्पियनसिप जित्ने लक्ष्य

वाफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिँदै। तस्बिर: एन्फा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा हुने वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य लिएको छ।

नेपालले आगामी फेब्रुअरी २० देखि साउदी अरेबियामा वाफ च्याम्पियनसिप खेल्दै छ। वाफ सन् २००५ देखि एसियाका पश्चिमी राष्ट्रले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिप हो। यो च्याम्पियनसिपमा नेपाल आमन्त्रित टोलीका रूपमा प्रतिस्पर्धा गर्दै छ।

 नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताइन्। समूह ‘बी’ मा रहेको नेपालले सोही दिन सिरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने तालिका छ। अर्को टोली प्यालेस्टान र इराकसहित यो समूहमा चार राष्ट्र छन्।

नेपाली टोलीकी कप्तान एन्जिलाले एसियाली क्षेत्रमा नेपालको महिला फुटबल राम्रो रहेको र सोहीअनुरूप तयारी पनि सुखद रहेकाले आफ्नो टोली च्याम्पियन बन्ने आशा व्यक्त गरिन्। यद्यपि, प्रतियोगितामा साउदी अरेबियाको टोली बलियो रहेको बताइन्।

फेब्रुअरी २२ मा नेपालको सामना इराकसँग हुनेछ। समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनविरुद्ध फेब्रुअरी २४ मा खेल्नेछ।

कप्तान एन्जिलाले यो प्रतियोगिताका लागि भने तयारी पर्याप्त नभएको उल्लेख गर्दै ६ जना खेलाडी देशबाहिर खेलेकाले त्यसको फाइदा टोलीमा पुग्ने विश्वास व्यक्त गरेकी छन्। धेरै खेलाडी बाहिर रहेकाले प्रशिक्षकलाई सुरुआती चरणमा टिम सेट गर्न गाह्रो भएको उनले बताइन्।

साउदीमा प्रतियोगिता खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको थियो। नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र महासचिव किरण राईलगायतले बिदाइ गरेका हुन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यो प्रतियोगिताका लागि करिब तीन हप्ता तयारी गरेको उल्लेख गर्दै टिमका धेरै खेलाडी बाहिर रहेकाले पूर्ण टोलीसहित पर्याप्त तयारी गर्न नपाएको बताए। यद्यपि, नतिजा भने आफ्नो पक्षमा आउने उनको विश्वास छ।

कुल आठ टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा आयोजक साउदी अरेबिया, ग्वाम, लेबनन र जोर्डन समूह ‘ए’ मा छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूहका खेलहरू जेडाह सहरस्थित किङ अब्दुल्ला स्पोर्ट्स सिटी रंगशालामा हुनेछन्। सेमिफाइनल र फाइनल भने प्रिन्स अब्दुल्ला अल फैसल स्पोर्टस सिटीमा हुँदै छ।

प्रशिक्षक तामाङले गत सोमबार एन्जिलाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका थिए। डिफेन्डर सबिना चौधरी तथा मिडफिल्डर सरस्वती हमाल र चन्द्रा भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीमा अवसर पाएका छन्।

टोलीको सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर, गोलकिपर प्रशिक्षकमा उज्ज्वल मानन्धर र व्यवस्थापकमा वृन्दा देवान छिन्।

नेपाली टोलीको गोलकिपरमा एन्जिला (कप्तान), अञ्जना रानामगर, उषा नाथ, डिफेन्डरमा अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, सविना चौधरी छन्।

मिडफिल्डरमा भने अमिषा कार्की, अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्रा भण्डारी तथा फरवार्डमा सविता रानामगर, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ र रेखा पौडेल छन्।  

प्रकाशित: ५ फाल्गुन २०८० ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App