१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको खराब सुरुआत

आइसिसी विश्वकप लिग– २

ब्याटिङका क्रममा नेपालका भीम सार्की (बायाँ) र कुशल मल्ल। तस्बिर : क्यान

शीर्ष क्रमका ब्याटरले बिर्सनलायक ब्याटिङ गरेपछि नेपालले बिहीबार नामिबियासँग चार विकेटको हारबाट आइसिसी विश्वकप लिग– २ (२०२४–०२७) को सुरुआत गरेको छ।

विश्वकप छनोट यात्राका रूपमा रहेको आइसिसी विश्वकप लिग–२ आगामी तीन वर्षसम्म चल्नेछ। यस दोस्रो संस्करणदेखि नेपालसहित आठ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। घरेलु मैदानबाट बिहीबार तीन वर्षे साइकल सुरु भए पनि नेपालले फाइदा उठाउन सकेन।

त्रिवि मैदानमा अहिलेसम्मकै खराब ब्याटिङ गरेपछि नेपालले लिग–२ को यस संस्करणमा निराशाजनक सुरुआत गर्नुपर्‍यो। कप्तान रोहितकुमार पौडेलसहित नेपालका शीर्ष क्रमका चार ब्याटरको प्रदर्शन बिर्सनलायक रह्यो। कीर्तिपुरमा नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

यससँगै घरेलु मैदानमा नेपालका प्रशिक्षक मोन्टी देसाईको अपराजित यात्रा १५औं खेलमा आएर पूर्णविराम लाग्यो। साथै यस फरम्याटमा नेपालका लागि त्रिवि क्रिकेट मैदानमा यो योगफल अहिलेसम्मकै न्यून पनि हो। नामिबियाका कप्तान जेरार्ड इरास्मसले पाँच विकेट लिँदै नेपालको इनिङ धराशयी बनाए।

बलिङमा नेपालले पनि चुनौती दिने प्रयास गर्‍यो। तर, सफलता पाउन भने सकेन। मध्यम लक्ष्य नामिबियाले १०१ बलअगावै पूरा भेट्टायो। जान फ्रायलिन्कको ३४ रन नै नामिबियाको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। ५३ बलमा उनले चार चौका हिर्काए। उनी २१औं ओभरको अन्तिम बलमा आउट भए।

यस ओभरमा सोमपाल कामीले दुई विकेट लिँदै आशा जगाए। त्यसअघि सोमपालले कप्तान इरास्मसलाई ८ रनमै आउट गर्दै पहिलो सफलता पाएका थिए। चार रनको अन्तरमा नामिबियाले तीन विकेट गुमाउँदा नेपालले जित आशा जगायो। यससँगै २४.१ ओभरमा नामिबिया ८४–५ को अवस्थामा पुग्यो।

तर, जान निकोल लोफ्टी–इटोनले ३१ रन र जोनाथन स्मिथले १७ रनको योगदान दिँदै जित दिलाए। इटोनले छैटौं विकेटका लागि स्मिथसँग ४४ रनको महŒवपूर्ण साझेदारी गरे। यो साझेदारीपछि नामिबियालाई जितका लागि सात रन आवश्यक थियो।

तर, नेपालका कप्तान रोहितले इटोनलाई एलबिडब्लु सिकार बनाए पनि पाहुना टोलीले सहज जित निकाल्यो। इटोनले ३० बलमा पाँच चौका हिर्काए। अविजित रहेका स्मिथले समान एक चौका र छक्का प्रहार गरे। त्यसअघि छैटौं ओभरमै पहिलो विकेट गुमाएको नामिबियाको सुरुआत मध्यम नै रह्यो।

स्पिनर ललितनारायण राजवंशीले निकोलस डाभिनलाई १५ रनमा आउट गरे। दोस्रो विकेट पनि उनकै नाममा रह्यो। ललितले दुई विकेटसँगै किफायती बलिङ गर्दै दबाब बनाएका थिए। अर्को छेउबाट सोमपालले ललितलाई साथ दिए। तर, अन्य बलरबाट भने नेपालले साथ पाउन सकेन।

नामिबियाका अर्का ओपनर माइकल भान लिन्गेनले २३ रन बनाए। १३.३ ओभरमा नामिबिया ५४÷३ को अवस्थामा थियो। तर, फ्राइलिन्क, स्मिथ र जानले समालिएर खेल्दै जित दिलाए। नेपालको बलिङमा सोमपालले तीन तथा ललितले दुई विकेट लिए। 

कप्तान रोहितले एक विकेट निकाले पनि पाहुना टोलीले सहज जित प्राप्त गर्‍यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले इनिङको पहिलो बलबाटै खराब सुरुआत ग¥यो। ओपनर कुशल भुर्तेल रोयल डक (इनिङको पहिलो बलमै आउट) आउट भए।

त्यसपछि पनि लगातार विकेट पतनसँगै नेपाल ४१.१ ओभरमा १३२ रनको सामान्य योगफलमा नै समेटियो। नामिबियाका कप्तान इरास्मस, रुबेन ट्रम्पलमेन र डेब्युटेन्ट ज्याक ब्रसेलको बलिङसामु नेपाल निरीह बन्यो। ट्रम्पलमेन र ब्रसेलले शीर्ष क्रमलाई सस्तैमा पभेलियन फर्काउँदै पावर प्लेमा नै नेपालको चार विकेट पतन गराए।

ओपनरद्वय कुशल शून्यमा र आसिफ सेख ४ रनमा आउट भए। त्यसपछि अनिल साह ८ रन र कप्तान रोहित १ रनमै पभेलियन फर्किए। त्यससँगै नेपाल ९.३ ओभरमा २१÷४ को नाजुक अवस्थामा पुग्यो। इरास्मसले पाँच विकेट लिँदै मध्यक्रम धराशयी बनाए।

तर, भीम सार्कीले नेपालको इनिङ समाल्ने प्रयास गरे। भीमले ४४ रन जोड्दै इनिङ उकासे। उनले पाँचौं विकेटका लागि कुशल मल्लसँग ४६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए। तर, इरास्मसले कुशललाई १५ रनमा आउट गरे। कुशलले २२ बलमा एक चौका र छक्का हिर्काए।

अनुभवी सोमपाल पनि दुई रनमै पभेलियन फर्किए। भीम र गुल्सन झाबीच २१ रनको साझेदारी बन्यो। भीम २७औं र गुल्सन ३२औं ओभरमा आउट भए र नेपालले आठ विकेट गुमायो। गुल्सनले तीन चौकासहित २१ रन बनाए।

अलराउन्डर पवन सर्राफ १२ रनमा र करण केसी १६ रनमा आउट भएपछि नेपाल सस्तमै समेटियो। नेपालले शृंखलाको दोस्रो खेलमा फेबुअरी १७ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि फेब्रुअरी २१ मा पुनः नामिबिया र फेबुअरी २५ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।

हारलाई अवसरका रूपमा लिनुपर्छ : मोन्टी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नामिबियासँगको हारलाई अवसरका रूपमा लिँदै आगामी खेलमा बलियो टोली बन्ने विश्वास व्यक्त गरेका छन्।

आइसिसी विश्वकप लिग–२ को आगामी तीन वर्षे साइकलको पहिलो खेलमै नामिबियासँग हारेपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टीले यो हारबाट माथि उठ्दै नेपाली टोली बलियो बन्ने धारणा राखेका हुन्। ‘यो हारलाई अवसर बनाउनुपर्छ। टोली निर्माण गर्न यो हारलाई मद्दतका रूपमा लिनुको विकल्प छैन।

हारले खेलाडीका स्वभावबारे पनि परीक्षण गरेको छ,’ प्रशिक्षक मोन्टीले भने। छिट्टै चार विकेट गुमाउनुले नै नेपाल खेलमा पछि परेको उनले प्रस्ट्याए। यस्तो अवस्थामा खेलाडी कसरी आफूलाई समालेर अगाडि बढ्छन् भन्ने महत्वपूर्ण कुरा रहने प्रशिक्षक मोन्टीको भनाइ छ।

‘हाम्रा खेलाडीले सुरुआती दबाब झल्न सकेनन्। यस्तो अवस्थामा खेलाडीले आफूलाई समाल्न सक्नुपर्छ। आगामी दिनमा हामी यसमा काम गर्नेछौं,’ उनले भने। खेलको अवस्था र पिच कन्डिसनबारे खेलाडीले राम्रोसँग बुझ्न नसकेको पनि मोन्टीको भनाइ छ। ‘आजको खेल कन्डिसन पनि चुनौतीपूर्ण रह्यो। त्यसलाई खेलाडीले बुझ्नुपर्छ। तर, हामी चुक्यौं,’ उनले भने।

उनले भीम सार्की र कुशल मल्लको साझेदारी भने महŒवपूर्ण रहेको बताएका छन्। नामिबियाविरुद्ध २३०÷२४० रनको योगफल भए त्यो पर्याप्त रहन सक्ने उल्लेख गरे। यो फरम्याटमा कहिलेकाहीं तलमाथि हुने र तर परिपक्वता देखाउनु नै महŒवपूर्ण रहने धारणा राखे।

नेपालका कप्तान रोहितकुमार पौडेलले शीर्ष क्रमका ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताए। तल्लो क्रमसम्म आफ्ना ब्याटर रहे पनि ब्याटिङ युनिटले पाएका अवसरलाई सदुपयोग गर्न नसकिएको उनको धारणा थियो।

प्रकाशित: ४ फाल्गुन २०८० ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App