२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

विजेता खेलाडीलाई सिल्ड प्रदान गर्दै कटारी नगरपालिकाका जनप्रतिनिधिलगायत। तस्बिर : नागरिक

यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ। कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा गत बिहीबार सुरु भएर शनिबार सम्पन्न जिल्लास्तरीय ‘१३औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८०’ मा ३१ स्वर्णसहित ७१ पदक जित्दै कटारी नगरपालिका विजेता बन्न सफल भएको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीन दिन सञ्चालन भएको प्रतियोगितामा जिल्लाका ४ नगर र ४ गाउँपालिकामध्ये सातवटा स्थानीय तहको सहभागिता थियो। प्रतियोगितामा ६ स्थानीय तहले स्वर्ण पदक हात पारेका छन् भने एउटा स्वर्ण पदकविहीन र लिमचुङबुङ गाउँपालिकाले सहभागिता नजनाएको आयोजक जिल्ला खेलकुद विकास समिति उदयपुरले जनाएको छ।

प्रतियोगितामा महिला–पुरुष भलिबल, कराते, तेक्वान्दो, उसु तथा एथ्लेटिक्समा प्रतिस्पर्धा गराइएको थियो। एथ्लेटिक्सतर्फ दौड प्रतियोगिताअन्तर्गत एक सय मिटर २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरमा स्पर्धा गराइएको थियो। त्यसैगरी हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट र ४ सय तथा १६ सय मिटरमा रिले दौड गराइएको थियो।

कुल ७७ पदकका लागि ७ स्थानीय तहका ६ सय ४ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा २५ स्वर्ण, १७ रजत र ३५ काँस्य जित्दै त्रियुगा नगरपालिका दोस्रो भयो। उदयपुरगढी गाउँपालिका ४ स्वर्ण, १ रजत र २ कास्य गरी ७ पदक जित्दै तेस्रो भएको छ।

भलिबलमा पुरुष महिला दुवैतर्फ त्रियुगा नगरपालिका प्रथम हुँदा चौदण्डीगढी नगरपालिका कटारी क्रमशः पुरुष र महिलामा दोस्रो भए। यस्तै कबड्डीमा पुरुषतर्फ त्रियुगा प्रथम, कटारी दोस्रो भयो भने महिलातर्फ कटारी प्रथम हुँदा त्रियुगा दोस्रो भएका छन्। एथ्लेटिक्समा कटारी प्रथम हुँदा त्रियुगा दोस्रो भएको छ।  

आयोजक जिल्ला खेलकुद विकास समिति प्रमुख रामबाबु यादवका अनुसार प्रतियोगितामा छनौट भएका ९८ जना खेलाडी छात्रछात्राले आउँदो फागुन २४ देखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।  

शनिबार आयोजित समापन समारोहमा विजयी खेलाडी छात्राछात्रालाई कटारी नगर प्रमुख राजेश्चन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, वडाध्यक्षहरु तथा प्रमुख यादवले सिल्ड, पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। मेयर श्रेष्ठले खेलकुदले छात्रछात्रालाई अनुशासित र गतिसिल बनाउँदै स्वस्थ्य नागरिक बनाउन मद्धत गर्ने बताए।

जीवनका हरेक गतिविधिलाई व्यवस्थित, सबल र सशक्त बनाउने भएकाले खेलकुदको महत्व सधैं रहने मेयर श्रेष्ठको भनाइ थियो। खेलकुदलाई राज्यबाटै प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मेयर श्रेष्ठले स्थानीय सरकार खेलकुद विधालाई राष्ट्रिय पहिचान निमार्णमा लगाउने योजनामा रहेको बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य विष्णु कटुवाल, कटारी २ र ३ का वडाध्यक्षहरु प्रेम थापा र पुष्कर खड्का, त्रिवेणी माविका प्रधानाध्यापक बालकृष्ण कार्की, एमाले र माओबादी नगर कमिर्टी अध्यक्ष क्रमशः सञ्जिव कार्की र मणिराज दाहाललगायतको उपस्थिति थियो।

प्रकाशित: २८ माघ २०८० १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App