१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर’

नेपाली टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस (बायाँ) र कप्तान मनीष डाँगी पत्रकार सम्मेलनमा। तस्बिर: नागरिक

नेपाली यु–२३ फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले चिनियाँ टोलीसँगको मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर हुने बताएका छन्।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यु–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिबार मैत्रीपूर्ण खेल हुँदै छ। सोही खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले यो खेलका लागि करिब एक साता तयारी गरेको उल्लेख गर्दै यहाँबाट नयाँ खेलाडीले राष्ट्रिय टोलीमा भविष्यसमेत बनाउने धारणा राखेका हुन्।

टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्यता रहेको प्रशिक्षक एनेसले बताए। नेपाली टोलीले यो खेलका लागि पोखरामा तयारी गरेको थियो। उनले अधिकांश यु–२० र एक जना यु–१६ टोलीबाट खेलाडी टोलीमा समावेश गरेको जानकारी दिए।

एन्फाले यो खेलका लागि मनीष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ। कप्तान मनीषले प्रशिक्षणका लागि आठ दिनको समय पाएको उल्लेख गर्दै समय कम भए पनि तयारी राम्रो भएको बताए।

नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा हुने उक्त खेल शनिबार दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछ।

प्रशिक्षक एनेसले नेपालबाट खेलाडी मात्र नभई धेरै जना क्षेत्रका मानिस बिदेसिएको र जुन दुःखद पक्ष रहेको उल्लेख गर्दै पछिल्ला एक वर्षमा आफूले पनि धेरै क्षमतावान् खेलाडी गुमाउनुपरेकोमा दुःख व्यक्त गरे।

त्यसैले यो खेल नयाँ खेलाडीका लागि अवसर हुने उनको धारणा छ। नेपाली छिमेकी राष्ट्र भारतको पछिल्लो समय एसियन कप आफूले हेरेको र त्यहाँ ६ वर्षदेखि राष्ट्रिय टोलीबाट नियमित रूपमा खेलेका खेलाडी रहेको बताए।

भारतमा प्रशिक्षकले पनि लामो समय टिम हेर्न पाएकाले नतिजा राम्रो आएको धारणा राखे। नेपालमा लगातार टोलीमा परिवर्तन भइरहनु दुःखद पक्ष रहेको उनको भनाइ छ। तर, पनि युवा खेलाडीलाई लिएर अगाडि बढ्नुको विकल्प नभएको उनी बताउँछन्। खेलअघि उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन्।

चिङ्घाईको छिङ हाई युसु युवाका १६ जना खेलाडीसहितको टोली नेपाल आएका हुन्। उक्त टोलीमा औसत २२ वर्ष उमेरका खेलाडी छन्। चिनियाँ टोलीका प्रशिक्षक बादेङ चेङ्लिनले नेपालसँग खेल्नु आफूहरूका लागि अवसर रहेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

प्रशिक्षक बादेङले नेपाली टोली राम्रो रहेको आफूले सुनेको उल्लेख गर्दै खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे। चिनियाँ टोलीले यो खेलबाट दुई देशबीच सम्बन्ध राम्रो बनाउने विश्वास लिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रूपैयाँ निर्धारण गरिएको छ।  

प्रकाशित: २७ माघ २०८० ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App