१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रोमाञ्चक जितसहित नेपालको सुखद सुरुआत

नेपाल क्यानडा एकदिवसीय शृंखला

क्यानडासँगको पहिलो एकदिवसीय खेलमा जित निकालेपछि नेपाली टोली। तस्बिर: क्यान

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले क्यानडासँगको पहिलो एकदिवसीय खेलमा बिहीबार सात रनको रोमाञ्चक जितसहित शृंखलामा सुखद सुरुआत गरेको छ।

बलिङमा उत्कृष्ट पुनरागमनसँगै हार सँघारमा पुगेको नेपालले कीर्तिपुरमा क्यानडामाथि सात रनको रोमाञ्चक जित निकाल्यो। नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमै अलआउट हुन पुग्यो। ४० ओभर सकिँदा क्यानडा १९५/५ को अवस्थामा थियो।

जितका लागि १० ओभरमा ३० रन आवश्यक हुँदा क्यानडासँग पाँच विकेट हातमा थियो। ४१औं ओभरमा निकोलस किर्तन ६८ रनमा पभेलियन फर्किएसँगै क्यानडाको इनिङ नाटकीय रूपमा धराशयी बन्यो। स्पिनर पवन सर्राफले उनको विकेटसँगै मेडन ओभर राखे।

त्यसपछि नेपालका स्पिनरले कसिलो बलिङ गर्दै २२ रन खर्चंदा बाँकी पाँच विकेट लिँदै रोमाञ्चक जित दिलाए। यससँगै तीन खेलको शृंखलामा नेपालले पहिलो खेलमा नाटकीय रूपमा जित निकाल्दै सुखद सुरुआत गरेको छ।

स्पिनरत्रय कप्तान रोहितकुमार पौडेल, पवन र ललितनारायण राजवंशीले कसिलो बलिङसँगै संयुक्त रूपमा पाँच विकेट लिए र जितनजिक पुगेको क्यानडालाई जिल्ल बनाए। कप्तान रोहितले ८.५ ओभरमा दुई मेडनसहित चार विकेट लिँदा २२ रन मात्र खर्चिए। उनी म्यान अफ दी म्याचसमेत घोषित भए।

ललितले दुई तथा पवन, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिँदै नेपालको मध्य लक्ष्य जोगाए। यो खेलमा रिजनसँगै स्पिनर सूर्य तामाङले डेब्यु गरे। तर, सूर्यको डेब्यु सुखद भएन र ६ ओभरमा बिनाविकेट ३२ रन खर्चदै महँगा भए। त्यसअघि मध्यम लक्ष्य पछ्याएको क्यानडाको सुरुआत सुखद भएन र चौथो ओभरमा नै पहिलो विकेट गुमायो।

रिजनले ओपनर नवनित धलिवाललाई ६ रनमै पभेलियन फर्काए। अर्का ओपनर आरोन जोनसन पनि २० रनमा नै आउट भए। अनुभवी बलर सोमपाल कामीले आरोनलाई एलबिडब्लुको सिकार बनाए।

त्यसपछि पाहुना टोली समालियो र लगातार दुई अर्धशतकीय साझेदारी गर्दै जिततर्फ उन्मुख भयो। पर्गत सिंह र निकोलसले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे। कप्तान रोहितले पर्गतलाई ५० रनमा आउट गर्दै तेस्रो सफलता दिलाए।

त्यससँगै १९.४ ओभरमा क्यानडा ११४/३ को स्थितिमा पुग्यो। त्यसपछि निकोलसले चौथो विकेटका लागि हर्ष ठाकरेसँग ६० रनको साझेदारी गरे। यो साझेदारीपछि क्यानडा नेपालमाथि पूर्ण हाबी थियो। ३२.५ ओभरमा तीन विकेटको क्षतिमा क्यानडा १७४ रनको स्थितिमा हुँदा जिततर्फ उन्मुख रह्यो। यही ओभरमा स्पिनर कुशल मल्लले हर्षलाई ३२ रनमा बोल्ड गर्दै साझेदारी तोडे।

एक छेउबाट इनिङ समालेका निकोलसले त्यसपछि साथ पाउन सकेनन्। नेपाली स्पिनरले पनि लगातार दबाब बनाए। कप्तान रोहितले नै त्यसपछि आएका श्रेयस मोभालाई १ रनमा आउट गर्दै पाँचौं विकेट दिलाए र पाहुना टोलीलाई थप दबाबमा राखे। त्यसपछि कप्तान रोहितले लगातार स्पिनर नै प्रयोग गरिरहे र सफल पनि भए।

४१औं ओभरमा स्पिनर पवनले निकोलसलाई बोल्ड गर्दै क्यानडालाई ठूलो झड्का दिए। त्यो विकेटसँगै नेपाली बलरले पूर्ण दबाब बनाए र क्यानडाका कप्तान साद बिन जफरसहित कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने नेपालका कप्तान रोहितको निर्णय सही साबित हुन सकेन। राम्रो सुरुआतका बावजुद ब्याटरले धेर्यता गुमाउँदा नेपाल मध्यम योगफलमा नै अलआउट भयो।

निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदा नेपालले २२४ रन जोड्यो। ९.१ ओभरमा ४८ रन जोड्दा नेपालले पहिलो विकेट गुमायो। एक छेउबाट ओपनर कुशल भुर्तेलले राम्रो ब्याटिङ गर्दै साझोदारी अगाडि बढाए।

अर्का ओपनर आसिफ शेख भने खुलेर ब्याटिङ गर्न असफल थिए। उदय भगवानले २४ बल खेलेका आसिफलाई ८ रनमा आउट गरे। त्यसपछि कप्तान रोहित पनि ८ रनमै पभेलियन फर्किए।

एक छेउबाट ओपनर कुशलले इनिङ अगाडि बडाए। १९औं ओभरमा कुशल ६२ रनमा आउट भए र नेपालले तेस्रो विकेट गुमायो। ५८ बल खेलेका कुशलले ९ चौका र एक छक्का हिर्काए। त्यसपछि नेपालले खासै राम्रो साझेदारी बनाउन सकेन।

भीम सार्की १७ रन र कुशल मल्ल २० रनमा आउट भए। मध्यक्रमका आरिफ सेखले इनिङ समाल्ने प्रयास गरे। राम्रोसँग जमे पनि उनी ३८ रनमा आउट हुन पुगे। ५० बल खेलेका आरिफले चार चौका हिर्काए। तल्लो क्रमका सोमपालले २७ रन जोडे।

आठौं विकेटका रूपमा आउट हुनुअघि उनले सूर्य तामाङसँग ३७ रनको साझेदारी गर्दै दुई सय रनको आँकडा पार गराए। २३ बल खेल्दै सोमपालले एक चौका र दुई छक्का प्रहार गरे। सूर्य १० रनमा नटआउट रहे। क्यानडाको बलिङमा भगवानले तीन विकेट तथा कप्तान जफर, ईश्वरज्योत सोहीले समान दुई विकेट लिए।

साहिद अहमदजाई र हर्षले समान एक विकेट लिँदा क्यानडाले नेपालको इनिङ सस्तैमा रोक्यो। यद्यपि, बलिङमा उत्कृष्ट पुनरागमनपछि नेपालले रोमाञ्चक जित निकाल्दै आइसिसी विश्वकप लिग–२ को नयाँ संस्करणको तयारीका लागि खेलिएको शृंखलामा सुखद सुरुआत गर्‍यो। नेपालले दोस्रो खेल शनिबार खेल्नेछ। 

प्रकाशित: २६ माघ २०८० ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App