२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोमाञ्चक जीतसहित एनआरटी फाइनलमा

बलको लागि भिड्दै एनआरटी र राजारानीका खेलाडी।

धनकुटाको राजारानी क्लबसँग रोमाञ्चक १७–१६ को जीत निकाल्दै न्यूरोड टिम (एनआरटी) छैठौं मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा निर्धारित समय र टाइब्रेकरको बराबरीपछि सडनडेथमा राजारानीसँग रोमाञ्चक जित निकाल्दै एनआरटीले फाइनल भिडन्त पक्का गरेको हो।

टाइब्रेकर बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो। सडनडेथमा दुवै टिमका ११/११ खेलाडीको प्रहारमा १०/१० गोल भएपछि पुनः दोहोर्‍याएर प्रहार गरेका थिए।

पहिलो पटकको प्रहारमा राजारानीका पिटर सेगुनको प्रहारलाई एनआरटीका प्रिसोले रोकेका थिए भने एनआरटीका नरेन्द्र चौधरीको प्रहार बारमा लागेर फर्किएको थियो।

दोस्रो पटकको प्रहारमा राजारानीका प्रवेश दनुवारको प्रहार आकासिँदा शिशिर लेखीको प्रहारलाई प्रिसोले रोकेका थिए। एनआरटीका माइकल गर्बुजाको प्रहारलाई एनआरटीका गोलरक्षक दीप कार्कीले रोकेका थिए।

अन्तिममा मोहित गुरुङको प्रहार गोल भएसँगै एनआरटीको फाइनल प्रवेशको बाटो खुलेको हो। प्रतिस्पर्धात्मक भिडन्तमा दुवै टिमले केही राम्रो मौका पाएपनि गोल ननिस्किँदा खेल सडनडेथ सम्म धकेलिएको थियो।

६७ औं मिनेटमा एनआरटीको सशक्त प्रहारलाई राजारानीका गोलरक्षक दीप कार्कीले एउटै हातले बचाए। ७६ औं मिनेटमा राजारानीका रुपेश केसीले खाली पोष्टमा गोल गर्न सकेनन्। 

गोलरक्षक प्रिसो अघि बढेको मौका उनले करिब मध्यभागबाट खाली पोष्टमा गरेको प्रहार नजिकैबाट बाहिरियो। अतिरिक्त समयमा एनआरटीका मोहित गुरुङले दुई जना डिफेण्डर छलाएर गरेको प्रहारलाई गोलरक्षक कार्कीले सहजै नियन्त्रणमा लिए।

एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्नो खेल जीवनमै यति लामो टाइब्रेकर कहिल्यै नभएको स्मरण गर्दै अन्ततः जीत निस्केकोमा खुसी व्यक्त गरे। 

‘खेल अवधिमै पाएको केही राम्रो मौकालाई सदुपयोग गर्न सकेनौं’, सिन्केमानले भने, ‘फिनिसिङमा ध्यान दिनुपर्ने देखियो।’ एनआरटीले इलाममा समेत टाइब्रेकरमार्फत जीत निकाल्दै उपाधि समेत जितेको थियो। यता राजारानीका प्रशिक्षक सविन अधिकारीले सोचेजस्तो खेल खेल्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए। 

‘आर्मीलाई हराएको हामी उच्च मनोबलमा थियौं। तर एनआरटीसँग सोचेको जत्तिको राम्रो खेल्न सकेनौं’, अधिकारीले भने, ‘टाइब्रेकरमा समेत एनआरटीलाई भाग्यले साथ दियो।’ बिहीबार दोस्रो सेमिफाइनल बागमतीको सर्लाही युवा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लवबीच हुनेछ।

२७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको थियो। प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ।

प्रकाशित: २४ माघ २०८० १९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App