१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इलाममा अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने

इलामको ठुलो टुँडिखेलमा प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ। आउँदो फागुन ११ देखि १९ सम्म आयोजना गरिने प्रतियोगितामा जिल्लामा १० पालिकाका एक–एक टिम सहभागी हुनेछन्।

माइभ्याली फुटबल क्लबले आयोजना गर्ने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। स्थानीय खेलाडी महिलाको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्मका प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

क्लब अध्यक्ष दिनेश काफ्लेले अहिलेसम्म सात पालिकाको टिम सम्पर्कमा आइसकेको बताए। ‘सबै पालिकाबाट यो प्रतियोगितामा सहभागिता रहनेछ,’ उनले भने, ‘खेलाडीलाई जुनसुकै टिममा सहभागी हुन खुला गरिएको छ।’

प्रतियोगितामा करिब नौ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको छ। प्रत्येक दर्शकबाट अन्य दिन ५० रुपैयाँ र फाइनलको दिन सय रुपैयाँ प्रवेश शुल्क उठाइने भएको छ। अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिनेछ भने विद्यार्थीलाई आधा छुट दिइने आयोजक क्लबका सन्तोष भक्तराजले जानकारी दिए।

फाइनलको दिन यसअघि इलामबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ।

२०४३ सालमा इलाममा महिला राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो। त्यस प्रतियोगितामा इलामबाट जुनु खड्का, मुना राई, संगीता राउत, इन्द्र देवान, शोभाष राई, सुस्मिता चेम्जोङ, स्व.तमिन राई, रमिता राउत र जमुना पाण्डे सहभागी रहेको क्लबले जनाएको छ। 
इलामबाट पप्पु दास, संरचना प्रधान र एञ्जिला तुम्बापोले राष्ट्रिय टिमबाट खेलिसकेका छन्। विभिन्न उमेर समूहमा इलामका जेनिफर राना र प्रिया बस्नेत राष्ट्रिय टिमबाट सहभागी भए।  

प्रकाशित: २२ माघ २०८० १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App