१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आयोजकलाई निराश बनाउँदै बागमती सेमिफाइनलमा

बागमतीका गोलरक्षकलाई म्यान अफ द म्याच प्रदान गरिँदै।

आयोजक मकवानपुर जिल्ला फुटबल संघलाई निराश बनाउँदै सर्लाहीको बागमती युवा क्लव हेटौंडामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अन्जन विष्ट, हिसुब थपलिया, सुरजज्यू ठकुरी, स्टेफन समिर लगायतका नाम चलेका खेलाडीले भरिएको एन्फा मकवानपुरलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बागमतीले सेमिफाइनल भिडन्त पक्का गरेको हो।

खेलमा दुईपटक लिड गरेको बागमतीले जितको लागि टाइब्रेकरसम्म कुर्नुपरेको थियो। हेटौंडा–६ गौरीटार रंगशालामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमार्फत् नतिजा निकालिएको हो। नियमित गोलरक्षक रविन बस्नेत घाइते भएपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका गोलरक्षक रोनक चौलाागाईं टाइब्रेकरमा नायक बने। उनले राष्ट्रिय खेलाडी सुरजज्यू ठकुरीको प्रहार रोकेका थिए। चौलागाईं नै खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद दश हजार र ट्रफी प्राप्त गरे। टाइब्रेकरमा बागमतीको तर्फबाट सिर्जन गौतम, आयुष राना मगर, निर्मल बल र अनिल मगरको प्रहार गोल हुँदा मकवानपुरको तर्फबाट अञ्जन विष्ट र स्टेफन समिरले मात्र गोल गरे। सुरजज्यूको प्रहार रोकिँदा अमित तामाङको प्रहार बाहिरिएको थियो।

सर्लाहीले खेलमा दुईपटक अग्रता लिएको थियो। बागमतीका लागि अभी लामाले ४५ औं मिनेटमा गोल गर्दै खेलमा दिलाएका थिए। मकवानपुरका लागि स्टेफन सामिरले ५५ औं मिनेटमा गोल फर्काए। ८१ औं मिनेटमा बागमतीले पुनः अग्रता लियो। अनिल राना मगरको गोलमार्फत अग्रता लिएको हो। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा मकवानपुर पुनः खेलमा फर्कियो। अमित तामाङको पासलाई सदुपयोग गर्दै स्टेफनले गोल गरेका हुन्।

बागमतीले अब सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ र थ्रीस्टारबीचको विजेतासँग खेल्नेछ। जारी प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी फुटबल क्लव र राजारानी क्लव धनकुटाको बीचमा खेल हुनेछ। बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले ‘टिमवर्क’का कारण मकवानपुुरसँग जित निस्किएको प्रतिक्रिया दिए। ‘मकवानपुरमा नाम चलेका राष्ट्रिय खेलाडीहरु थिए। हाम्रोमा स्टार खेलाडी नभएपनि सबैले मेहनत गरेकोले जित्न सफल भयौं’, श्रेष्ठले भने, ‘सेमिफाइनलमा अझ राम्रो खेल प्रश्तुत गर्नेछौं।’

यता मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले मिडफिल्डर र डिफेन्डरवीच तालमेल नहुँदा हार व्यहोरेको प्रतिक्रिया दिए। ‘विदेशी खेलाडीले समेत सोचे अनुरुपको खेल्न सकेनन्। डिफेण्डर र मिडमा तालमेल नै मिलेन’, उनले भने, ‘गोलरक्षक र डिफेण्डरको गल्तीले गोल खान पुग्यौं ।’ प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्राप्त गर्नेछ भने विधागत उत्कृष्टले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप सञ्चालन भैरहेको हो।

प्रकाशित: २१ माघ २०८० १९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App