१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

एनआरटीको उत्कृष्ट ‘कमब्याक’

टाइब्रेकरमा चर्च व्वाइजमाथि एनआरटीको ४–३ को जित

एनआरटीका विवेक गुरुङलाई म्यान अफ द म्याच प्रदान गरिँदै।

चर्चब्वाइज क्लबसँग दुई गोलले पछि परिसकेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै न्यूरोड टिम (एनआरटी) हेटौंडामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

एनआरटीले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्याएर टाइब्रेकरमा जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

‘ए’ डिभिजन लिग च्याम्पियन चर्च व्वाइजमाथि टाइब्रेकरमा ४–३ को जित निकाल्दै एनआरटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल सिधै टाइब्रेकरको धकेलिएको थियो।

पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको सुरुवातीमै राजेश परियारको गोलमार्फत चर्चब्वाइजले अग्रता लिगेको थियो। ५४ औं मिनेटमा परियारले गोल गरेका हुन्। ‘डि’ बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। ७६ औं मिनेटमा मार्टिनले अग्रता दोब्बर पारे।

मनिष जर्गा मगरले उपलब्ध गराएको पासलाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए। दुई गोलले पछि परेको एनआरटीले सम्हालिएको खेल खेल्दै नियमित समयको एक मिनेट बाँकी रहँदा अशोक थापाले गोल गरेर आशा जीवितै राखे।

माइकल गर्बुजाले उपलब्ध गराएको पासलाई उनले ‘ब्याक हिल’ गोल गरेका हुन्। निर्धारित समय पश्चात् थप गरिएको चौथो मिनेटमा विदेशी खेलाडी जोन ग्लोरीले गोल गर्दै एनआरटीलाई खेललाई बराबरीमा ल्याए। 

टाइब्रेकरमा विजयी टोली एनआरटीको तर्फबाट अभिषेक लिम्बु, जय गुरुङ, गोलरक्षक प्रिसो र विवेक गुरुङले गोल गरेका थिए।

एनआरटीका मोहितको गुरुङको प्रहार चर्चब्वाइजका गोलरक्षक रेम्बो चौधरीले बचाए। चर्च व्वाइजको तर्फबाट निरज कार्की, बिकु राई र कमल श्रेष्ठको प्रहार गोलमा परिणत हुँदा बोयेमो बाउण्डोमाको प्रहार बाहिरिएको थियो भने लक्षु थापाको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए। खेलको म्यान अफ द म्याच एनआरटीका विवेक गुरुङ घोषित भए।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले अन्तिम ५ मिनेटमा लगातार गोल निस्किँदा टाइब्रेकरमार्फत जित निकाल्दा सजिलो भएको बताए। 

‘२ गोलले पछि परिसक्दा पनि हाम्रो खेल नराम्रो थिएन। संयमित भएर खेल्यौं’, सिन्केमानले भने, ‘अन्तिमसम्म खटेर खेलेकोले जित निकाल्न सक्यौं। सेमिफाइनलमा अझै सुधारिएको खेल खेल्नेछौं।’

एनआरटीले अब अन्तिम चारमा धनकुटाको राजारानी र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा आइतबार घरेलु टोली मकवानपुर ११ र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ। 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

प्रकाशित: २० माघ २०८० २०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App