१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

राजारानीसँग पुलिस स्तब्ध

बलको लागि प्रतिस्पर्धा गर्दै पुलिस र राजारानीका खेलाडी।
नेपाल पुलिस क्लबलाई हराउँदै धनकुटाको राजारानी क्लब छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा नाम चलेका खेलाडीसहित मैदानमा उत्रिएको राजारानीले पुलिसलाई २–० ले हराएको हो। 
 
पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ५३ औँ मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलमार्फत राजारानीले अग्रता लिएको हो। बायाँतर्फबाट आएको बललाई उनले हेडमार्फत गोल गरेका हुन्। ६४ मिनेटमा राजारानीले अग्रता दोब्बर बनायो। क्रसबाट आएको बललाई सुशिल लामाले गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। पहिलो हाफमा पाएको सुन्दर मौकालाई पुलिसले गुमाएको थियो। दुई गोलपश्चात खेलमा राजारानी क्लब एक पक्षीय हाबी भएको थियो। खेलको म्यान अफ द म्याच पहिलो गोलकर्ता मार्टिन्स घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले टिम सेट नहुँदा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए। 
 
नियमित खेलाडीहरू बाहिरिएको र नयाँ युवा खेलाडीलाई समेटेर टिम बनाएकोले तालमेलको अभाव देखिएको उनको भनाई थियो। यता राजारानी क्लबका प्रशिक्षक सविन अधिकारीले जित्ने लक्ष्य सहित मैदान प्रवेश गरेको भन्दै पहिलो खेलमा जित निस्केकोमा खुसी व्यक्त गरे। खेलाडी छनौटको समयमा समस्या भएको स्मरण गर्दै उनले आगामी खेलमा थप सुधारिएको खेल प्रस्तुत हुने विश्वास व्यक्त गरे। जारी प्रतियोगितामा शनिबार न्यूरोड टिम एनआरटी र चर्च ब्वाइज क्लबको खेल हुनेछ। यही माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ, उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। 
 
यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका स्थानीय तहको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको हो। पाँचौँ संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो। 

प्रकाशित: १९ माघ २०८० २०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App