५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

टुंगियो नेपालको विश्वकप यात्रा

यु–१९ विश्वकप क्रिकेट

बंगलादेशविरुद्ध पाँच विकेट लिएका सुवास भण्डारी बलिङ गर्दै। तस्बिर: आइसिसी

खराब ब्याटिङ सामना गरेपछि नेपालले जारी यु–१९ विश्वकपको सुपर सिक्समा बुधबार बंगलादेशसँग पाँच विकेटको लज्जास्पद हार बेहोरेको छ।

सुपर सिक्सको यो खेल अर्थहीन भए पनि नेपालले पूर्ण दबाबमा रहेर खेल्यो र निरासपूर्ण ब्याटिङ सामना गर्‍यो। सुवास भण्डारीको अलराउन्ड प्रदर्शन र डेब्युटेन्ट विशालविक्रमको धैर्यपूर्ण ब्याटिङ मात्र तारिफयोग्य रह्यो।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनमा नेपालले दिएको १७० रनको सामान्य लक्ष्य बंगलादेशले २५.२ ओभरमा मात्र पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। खराब ब्याटिङ सामना गरेको नेपालका लागि बलिङमा सुवास भण्डारी एक्लैले पाँच विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे।

तर, अन्य बलर भने चम्कन सकेनन् र बंगलादेशले १४८ बलअगावै जित दर्ता गर्‍यो। सुरुदेखि नै आक्रामक रणनीति अपनाएको बंगलादेशका लागि ओपनर जिसान अलामले ५५ रन जोड्दा अरिफुल इस्लाम ५९ रनमा अविजित रहे।

जिसानले ४३ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि एसिकर रहमानसँग ६७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। १२औं ओभरमा सुवासले रहमानलाई १६ रनमा गुल्सन झाद्वारा क्याच गराए। सुवासले त्यसपछि आएका ब्याटर चौधरी रिजवानलाई पनि १५ रनमै पभेलियन फर्काउँदै दोस्रो सफलता दिलाए।

१५औं ओभरमा जिसान पनि सुवासकै सिकार भए। तर, अर्को छेउबाट अरिफुलले आक्रामक सट प्रहार गर्दै नेपाली बलरमाथि दबाब बनाए। उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे। सुवासले अहरार अमिनलाई १२ रनमा बोल्ड गरे। त्यसपछि उनले मोहम्मद जेम्सलाई शून्यमै पभेलियन फर्काए पनि बंगलादेशका लागि कुनै चुनौती भएन।

नेपालको बलिङमा सुवासबाहेक अन्य बलर चल्नै सकेनन्। उनले आठ ओभरमा पाँच विकेट लिँदा ४४ रन खर्चिए। दुर्गेश गुप्ताले तीन ओभरमा एक मेडन राख्दै ११ रन मात्र दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निकै खराब सुरुआत गर्‍यो। सुरुदेखि दबाबमा परेको नेपाल ४९.५ ओभरमा १६९ रनको सामान्य योगफलमा नै अलआउट भयो। नेपालका लागि विशालविक्रम केसीको ४८ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।

यु–१९ विश्वकपमा डेब्यु गरेका सुवासले १०० बलमा ६ चौका हिर्काए। नेपालले चौथो ओभरमा नै ओपनर विपिन रावललाई २ रनमै गुमायो। त्यसपछि आएका आकाश त्रिपाठी ३ रनमा र ओपनर अर्जुन कुमाल १४ रनमा आउट भए।

८.३ ओभरमा नेपाल २९/३ को नाजुक अवस्था पुग्यो। तर, कप्तान देव खनाल र विशालविक्रमले चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे। धैर्यपूर्वक ब्याटिङ गर्दै यो जोडीले नेपालको इनिङ सय रनको आँकडानजिक पुर्‍यायो। तर, २८औं ओभरमा देव ३५ रनमा आउट हुन पुगे। ६० बलमा उनले तीन चौका हिर्काए। त्यसपछि अर्को छेउबाट नेपालले लगातार विकेट गुमायो। यस क्रममा गुल्सन झा, दीपक बोहारा र दीपेश कँडेल समान ३ रनमै पभेलियन फर्किए।

यद्यपि, एक छेउबाट विशालविक्रमले इनिङ अगाडि बढाए। उनी पनि ४३औं ओभरमा आउट भए र नेपाल १३८/८ को नाजुक अवस्थामा पुग्यो। तर, सुवास भण्डारीले नटआउट १८ रन जोड्दै नेपालको इनिङ उकास्ने प्रयास गरे।

बंगलादेशको बलिङमा रोहनत बोरसनले चार र शेख जीवनले तीन विकेट लिँदै नेपालको इनिङ धराशयी बनाए। इकबाल हुसेन, मारूफ मृधा र जिसान आलमले समान एक विकेट लिए। नेपालविरुद्ध फराकिलो जितसँगै बंगलादेशले ग्रुप वानबाट सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ।

अब पाकिस्तानविरुद्ध राम्रो अन्तरमा जित निकाले बंगलादेश सेमिफाइनलमा पुग्नेछ। नेपालको भने सुपर सिक्सका दुई खेलमा जित निकाले पनि सेमिफाइनल अपर्याप्त बनेको थियो। नेपालले अब सुपर सिक्समा शुक्रबार भारतसँग खेल्नेछ। 

प्रकाशित: १८ माघ २०८० ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App