२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

मैयाँँदेवी महिला क्रिकेटः उपाधिका लागि गण्डकी र बागमती भिड्ने

चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी र बागमती प्रदेश भिड्ने भएका छन्।

आज (बुधबार) सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै गण्डकी र बागमती फाइनल प्रवेश गरेका हुन्। पहिलो सेमिफाइनलमा लुम्बिनीविरुद्ध ७ विकेटको जित हात पार्दै गण्डकीले फाइनलमा स्थान सुरक्षित गरेको हो। १५ ओभरमा घटाइएको खेलमा लुम्बिनीले दिएको ८३ रनको लक्ष्य गण्डकीले ५ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेट्टायो।

गण्डकीको जितमा ज्योत्सना मरासिनेले नट आउट ३६ रन बनाइन्। ३६ बल खेलेकी ज्योत्सनाले ४ चौका र एक छक्का प्रहार गरिन्। सीमाना केसीले १९ रन बनाइन्। लुम्बिनीकी सुस्मिता भुसाल, सरु तिवारी र दीपा कुँवरले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ८२ रन बनाएको थियो। लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले नट आउट ४२ रन बनाए पनि हार टार्न सकिनन्। ४५ बल खेलेकी आश्माले ४ चौका प्रहार गरिन्। गणडकीकी कुसुम गोदारले २ तथा सीमाना केसीले एक विकेट लिए।

आजै सम्पन्न दोस्रो रोमाञ्चक सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै बागमतीले गण्डकीसँगको भेट पक्का गरेको छ। निकै रोमाञ्चक खेलमा बागमतीले सुदूरपश्चिमलाई १ रनले पाखा लगायो। 

बागमतीले दिएको ८४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ८२ मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि सारित्री धामीले ३४ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए पनि हार टार्न सकिनन्। कप्तान स्नेहा महराले १५ रन जोडिन्। बागमतीकी कृश्मा गुरुङले ३ विकेट लिइन्।

त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बागमती १९ ओभर ३ बलमा ८३ रनमा समेटिएको थियो। बागमतीकी कप्तान सोनी पाख्रिनले १५ तथा कृश्माले १३ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंंकको रन जोड्न सकेनन्। 

सुदुरपश्चिमकी करिश्मा थापाले ३ तथा अनु कडायत, जानकी थापा र गंंगा खड्काले २–२ विकेट लिए। नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि भिडन्त शुक्रबार हुनेछ।

प्रकाशित: १७ माघ २०८० १५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App