४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

३ लाख पुरस्कार राशिको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ घोषणा

सोलुखुम्बुमा आयोजना गरिने सर्वाधिक राशिको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ घोषणा गरिएको छ। बुधवार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा ३ लाख पुरस्कार राशि रहेको ट्रेल म्याराथनको घोषणा गरिएको हो। उक्त पुरस्कार राशि ट्रेल म्याराथनको इतिहासमा नेपालकै ठुलो पुरस्कार राशि मानिएको छ।

मुन स्टार क्लबको वार्षिक उत्सवको अवसरमा आगामी अक्टोबर २१ तारिखमा आयोजना गरिने ट्रेल म्याराथन करिब ४३ किलोमिटर दूरीको हुनेछ। सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र बहादुर राईले जानकारी दिए।

सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी देखि सुरु हुने म्याराथन माप्य दुधकोशी गाउँपालिका २ बासाखाली माध्यमिक विद्यालय (खालीडाँडाँ) मा पुगेर विविध सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित समापन गरिने क्लबका अध्यक्ष भुवन सिं राईले जानकारी दिए।

१६ वर्ष माथिका स्वदेशी तथा विदेशी महिला र पुरुष सहभागी बन्न सक्ने ट्रेल म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः ३ लाख, २ लाख र एक लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना ५/५ जना धावकलाई ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ। महिला र पुरुषतर्फको प्रतिस्पर्धा विजेतालाई समान पुरस्कारको व्यवस्था मिलाइएको छ।

अक्टोबर २१ मै स्थानीय खेलाडीलाई विशेष प्रोत्साहन गर्ने धेयले महिला र पुरुष ‘मातृभूमि म्याराथन’को समेत आयोजना गरिने मुन स्टार क्लबका सचिव पूर्ण राईले बताए। खुम्बु पासाङल्हमू गाउँपालिका १ खरिखोलादेखि सुरु हुने उक्त म्याराथन जुभिङ हुँदै खालीडाँडाँसम्म २१ किलोमिटरको रहनेछ।

महिला र पुरुष तर्फको विजेतालाई समान पुरस्कार राशि २० हजार, १५ हजार र १० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना १/१ जना धावकलाई ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिन आयोजकले जनाएको छ।

सम्मेलनमा अन्तर्राष्ट्रिय धावक अर्जुन कुलुङले विश्वशान्तिको कामनासहित आयोजना गरिने ट्रेल म्याराथनले खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।  

प्रकाशित: १७ माघ २०८० १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App