१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

अपराजित पुलिस फाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

सातौं खेलसम्म अपराजित नेपाल पुलिस क्लब सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै पुलिसले दुई खेलअगावै फाइनलमा स्थान बनाएको हो। अब पुलिसले अन्तिम दुई खेलमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्नेछ।

पुलिस जारी प्रतियोगितामा फाइनल पुग्ने पहिलो टोली हो। अर्को विभागीय टोली नेपाल आर्मी क्लब पनि फाइनलनजिक पुगेको छ। आर्मीले सोमबार कीर्तिपुरमा सुदूरपश्चिम प्रदेशमाथि ९७ रनको जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको हो। यो जितसँगै आर्मीले ८ खेलबाट १२ अंक जोडेको छ।

अन्तिम खेलमा गण्डकी प्रदेशविरुद्ध जित निकाले आर्मी शीर्ष दुईमा रहेर फाइनल पुग्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीको जितमा तीव्र गतिका बलर जितेन्द्र मुखियाको बलिङ उत्कृष्ट रह्यो।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४०.१ ओभरमा १६५ रनमै समेटियो। जितेन्द्र एक्लैले पाँच विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशयी बनाए। यो हारसँगै सुदूरपश्चिमको सात खेलबाट आठ अंक छ। सुदूरपश्चिमको पनि फाइनल सम्भावना छ। तर, त्यसका लागि बाँकी दुई खेलमा जित निकाल्दा आर्मी र एपिएफको बाँकी खेलमा हारको कल्पना गर्नु पर्नेछ।

आर्मीसँगको हारले नै सुदूरपश्चिमको फाइनल यात्रा कठिन बन्न पुग्यो। सुदूरपश्चिमका किरण ठगुन्नाले ६८ रनबाहेक अन्य ब्याटर क्रिजमा जम्न सकेनन्। किरणले ७४ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।

शेर मल्लले २४ रन, नरेन भट्टले १८ र प्रकाश पाण्डेले ११ रन बनाए। किरणले सातौं विकेटका लागि शेरसँग ५४ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे पनि सफल भएनन्।

आर्मीको बलिङमा जितेन्द्रले ६.१ ओभरमा दुई मेडन राख्दै १० रन मात्र खर्चिए। सोमपाल कामीले दुई तथा साहब आलम, बसिर अहमद र कुशल मल्लले समान एक विकेट लिएपछि आर्मीले फराकिलो जित निकाल्यो।

त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मी ४८.३ ओभरमा दुई सय ६२ रनको योगफलमा समेटिएको थियो। कुशल मल्लले ७५ रनको अर्धशतकीय इनिङ खेले। उनले ६७ बलमा १० चौका र तीन छक्का हिर्काए।

सन्दीप रजालीले ३७, बसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३० र साहब आलमले २१ रन बनाए।

कुशलले सातौं विकेटका लागि बसिरसँग ११३ रनको साझेदारी गर्दै आर्मीलाई सम्मानजनक योगफलतर्फ अग्रसर गराए। सुदूरपश्चिमको बलिङमा भोजराज भट्टले ९.३ ओभरमा एक मेडन राख्दै ६३ रन खर्चिएर ६ विकेट लिए। नरेन साउदले तीन र विकास आग्रीले एक विकेट लिए।

मूलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको एक सय ७१ रनको सामान्य लक्ष्य पुलिसले २४.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्दै अपराजित यात्रा कायम राखेको हो।

 हारपछि गण्डकीको आठ खेलबाट चार अंक छ। पुलिसको जितमा ओपनर दिलीप नाथले ५७ रनको योगदान दिए। उनले ३९ बलमा ६ चौका र चार छक्का हिर्काए।

अर्जुन साउद ४४ रनमा र आरिफ शेख २७ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेलले २२ रन र शंकर रानाले १२ रन बनाए। गण्डकीको बलिङमा सन्दीप पराजुलीले दुई तथा कमल परियार र कप्तान विपिन खत्रीले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ७० रनको सामान्य योगफल तयार पार्‍यो।  

प्रकाशित: १६ माघ २०८० ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App