प्रथम म्याग्दी विद्यालय स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिताको उपाधि प्रकाश मावि र शिख माविले जितेको छ।
म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको प्रतियोगितामा छात्रतर्फ बेनी नगरपालिका–७, स्थित प्रकाश मावि र छात्रातर्फ अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित किसानी मावि प्रथम भएको हो।


पहिलो सेटमा २६–२८ ले पछाडि परेको प्रकाश माविले दोस्रो सेटमा २५–२१, तेस्रो २५–२१ र चौथोमा २५–१८ अङ्कले विजयी हुँदै उपाधि जित्न सफल भयो।
निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो सेटमा किसानी माविका खेलाडीको तालमेल नमिल्दा प्रकाश माविले फाइदा लिएको थियो। त्यस्तै छात्रातर्फ प्रकाश माविले पहिलो दुई सेट लगातार जिते पनि बाँकी तीन सेट लगातार गुमाउँदा उपविजेतामा चित्त बुझाउनुपर्यो।
प्रकाश माविका खेलाडीको कमजोरीको मौका शिख माविका खेलाडीलाई अवसर मिल्यो। दुई सेट गुमाउँदा समेत शिखका खेलाडीले कठिन परिस्थितिमा गरेको पुनरागमनलाई अन्तिम सेटसम्म निरन्तरता दिए।
पहिलो सेटमा ७–२५ को फराकिलो अन्तरले पराजित भएको शिख मावि दोस्रो सेट १८–२५ अंक बटुल्न सफल भयो भएपनि तेस्रो सेटमा भने २५–२२ को जित निकाल्न सफल भयो।
तेस्रो सेट जितेपछि खेलाडीको खेलको शैली परिवर्तन र योजनाबद्ध तालमेलका कारण शिख माविले चौथो सेटमा २५–२० र अन्तिम सेटमा १५–१२ पछि पादैं चमत्कारी खेल प्रदर्शन गर्दै उपाधि चुमेको हो।
प्रतियोगितामा विजेता र उपविजेतालाई छात्रछात्रा टोलीलाई गण्डकी प्रदेशसभाका सांसद हरि भण्डारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

त्यस्तै जिल्लामा पहिलो आयोजना भएको शिक्षक/शिक्षिकाको भलिबल प्रतियोगितामा शिक्षक तर्फ मंगला गापा–२ बाबियाचौर स्थित डनिङ आवसिय माविले नगद २० हजारसहित ट्रफि पहिलो बनेको छ।
शिक्षक तर्फ बेनी नपा–९ तोरिपानी स्थित गलेश्वर मावि उपविजेता बन्दै नगद १० हजारमा चित्त बुझाएको छ। त्यस्तै शिक्षिका तर्फ बेनी नगरपालिका–७ महरानीथान स्थित माउण्ट एभरेष्ट आवासीय माविलाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित शिख माविका शिक्षिकाहरुले २० हजार सहित उपाधि जितेका थिए। उपविजेता माउण्ट एभरेष्ट आवासीय माविका शिक्षिकाले नगद १० हजारसहित ट्रफि प्राप्त गरे।
प्रतियोगितामा म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला प्रहरी कार्यालय बिच भएको मैत्रीपूर्ण भलिबलमा विजेता जिल्ला प्रहरीलाई नगद १० हजार पुरस्कार वितरण गरिएको थियो।
प्रतियोगितामा छात्रातर्फ शिख माविकी कमला पाइजा र छात्रतर्फ प्रकाश माविका प्रेम बहादुर विक सर्वोत्कृष्ट घोषित भएका थिए।

उत्कृष्ट खेलाडीलाई महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही, मुख्य प्रायोजक गौमती विकास कोषका सन्दिप खत्रीले नगद ५ हजार सहित ट्रफी प्रदान गरेका थिए।
त्यस्तै प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो। प्रतियोगितामा शिक्षकतर्फ २०, शिक्षिकातर्फ ९ र छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालय सहभागी भएका थिए।
म्याग्दी जिल्लाको विद्यालयस्तरमा रहेका भलिबल खेलाडीको खेल पहिचान तथा नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउन प्रतियोगिताको आयोजना गरिएको भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए।
प्रकाशित: १३ माघ २०८० १४:५२ शनिबार





