३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आहा ! रारा गोल्ड कप: भुटानको पारोलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

विदेशी टिम भुटानको पारो फुटबल क्लबलाई स्तब्ध पार्दै थ्रीस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा आशिष चापागाईंको दुई गोलको मद्दतमा थ्रीस्टारले पारो एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

अन्तिम ६ मिनेटमा दुई गोल गरेपछि थ्रीस्टार सेमिफाइनलमा पुग्दा पाहुना टोली भुटानको पारो एफसी भने प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको छ। अन्तिम ६ मिनेट सम्हालिन नसक्दा पारो एफसी पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको हो।

शनिबारको खेलमा थ्रीस्टारको जितमा आशिष चापागाईं नायक बने। उनले ११४ र ११९ औं मिनेटमा दुई गोल गर्दै थ्रीस्टारलाई जिताउन सफल भए।

खेलको ११४ औं मिनेटमा पेनाल्टी बक्समा भेट्टाएको अवसरलाई सदुपयोग गर्दै थ्रीस्टारका लागि खाता खोलेका उनले त्यसको ६ मिनेट नबित्दै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

पहिलो गोल गर्दा विपक्षी गोलकिपर जाङ्पोले रोक्ने अवसर नै पाएनन्। बलले जाली चुमिसक्दासमेत जाङ्पोले मेसो पाएनन्। पहिलो गोलपछि उत्साहित अभिषेकले ११९ औं मिनेटमा दोस्रो गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे।

यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट थपिएको थियो। प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफ दुवै टिमले पर्ख र हेरको रणनीतिमा खेलेका थिए। रक्षात्मक खेल खेलेका दुवैले काउण्टर अट्याकमार्फत गोल गर्ने रणनीति अप्नाएपनि त्यसमा सफल भएनन्।

थ्रीस्टारले ७, ४२, ५९, ७९, ८०, ८६ औं मिनेटमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। थ्रीस्टारले ७ औं मिनेटमै खाता खोल्ने अवसर गुमायो। पारोको पेनाल्टी एरियामा महेन्द्र कार्कीले दायाँ साइडबाट दिएको क्रस पासमा दीपेश आले मगरले गरेको प्रहारले गोलपोष्टको दिशा लिएन। 

४२ औं मिनेटमा दीपेश आले मगरले दिएको पासमा आशिष चापागाईले बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने अवसर खेर गयो। आशिषले ढिलाइ गर्दा पेनाल्टी एरिया भन्दा बाहिर गएर पारोका गोलकिपर गेल्शेन जाङ्पोले बल क्लियर गर्दै जोखिम टारे।

खेलको ५९ औं मिनेटमा थ्रीस्टारले अर्को गोल गर्ने अवसर खेर फाल्यो। आशिष चापागाईंले मैदानको दायाँ भागबाट दिएको क्रस पासमा पेनाल्टी बक्समा रहेका आदित्य शाक्यले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

पहिलो हाफभन्दा आक्रामक बनेको थ्रीस्टारले एकपछि अर्को आक्रमण बुन्यो। जसका कारण पारो दबाबमा परेपनि गोल गर्न भने रोक्न सफल भयो।

खेलको ७९ र ८० औं मिनेटमा थ्रीस्टारले लगातार दुई अवसर खेर फाल्यो। ७९ औं मिनेटमा मौसमको क्रस पासमा रोशनले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। त्यस लगत्तै पाएको कर्नर किकपनि खेर गयो। दीपेशले हानेको कर्नरमा थ्रीस्टारका खेलाडीले गरेको हेडरले गोलपोष्टको दिशा लिएन। 

८६ औं मिनेटमा थ्रीस्टारले फेरी अर्को गोल गर्ने अवसर खेर फाल्यो। आशिष चापागाईंले पेनाल्टी बक्स भित्रबाट हानेको कडा प्रहार सेकेण्डबार हुँदै बाहिरिँदा थ्रीस्टार अग्रता बनाउन चुक्यो। 

१०५ औं मिनेटमा वैकल्पिक खेलाडी विराज महर्जनले मैदानको दायाँ साइडबाट गरेको प्रहार विपक्षी टिमका फ्लोरेन्टले हेडमार्फत क्लियर गरे।

काउण्टर अट्याकमार्फत गोल गर्ने रणनीति अपनाएको पारोलेपनि १४, १९, ३२ औं मिनेटमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। खेलको १४ औं मिनेटमै पारोले गोल गर्ने अवसर पाएको थियो। तर सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुक्यो। फुथ थिन्लेले हानेको फ्रिकिकमा शेल्थ्रम नामघ्यालको हेडर पोष्ट नजिकैबाट बाहिरियो। 

१९ औं मिनेटमा फुर्बा वाङचुकले गरेको प्रहार डिफेन्डर मौषम सुब्बाले हेडमार्फत क्लियर गरे। ३२ औं मिनेटमा पारोले अर्को एउटा गोल गर्ने राम्रो अवसर खेर फाल्यो। यसी दोर्जेले पेनाल्टी बक्सबाट हानेको बल थ्रीस्टारका खेलाडीमा फ्लिकहुँदै पोष्ट भन्दा थोरैमात्र बाहिरबाट बाहिरियो। ९२ औं मिनेटमा शेरुब दोर्जेले हानेको कडा फ्रिकिक प्रहार विपक्षी गोलकिपर अभिषेक बरालले नियन्त्रणमा लिँदै बचाए।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनलमा आइतबार संकटा क्लबविरुद्ध नेपाली सेनाको त्रिभुवन क्लब प्रतिष्पर्धामा उत्रिनेछ। संकटा सिधै क्वाटरफाइनलमा प्रवेश पाएको टिम हो भने त्रिभुवन आर्मी क्लब मोफसलको राईजिङ स्टार फुटबल क्लब नवलपुरलाई हराएर क्वाटरफाइनलमा आइपुगेको हो।

प्रकाशित: १३ माघ २०८० १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App