१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

ज्ञान मन्दिरलाई ओप्स फुटबल उपाधि

ज्ञान मन्दिरले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत ब्वाइज फुटबलको उपाधि  जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा आज ज्ञान मन्दिरले सेबलाई टाई ब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो।

 सुमित बज्राचार्यले १७ औं मिनेटमा गोल गर्दै सेबलाई १–० को अग्रता दिलाएका थिए।ज्ञान मन्दिरका विकास गुरुङले ३७ औं मिनेटमा खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गरिएको थियो।

पेनाल्टीमा ज्ञान मन्दिरका विकास गुरुङ, सुशान्त थापा मगर, विवेक राई र यारिश मख्याम मगरले गोल गरे। सुशान्त प्याकुरेल चुके। सेबका मनीष गुरुङ, अर्जुन राना मगर र दिप्सन मल्लले गोल गरे। विप्लव गुरुङ र सुमित चौधरीले गोल गर्न सकेनन्।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल ९ओप्स० द्वारा आयोजित प्रतियोगितामा ज्ञान मन्दिरका सुशान्त थापा मगर उत्कृष्ट खेलाडी घोषित भए। फर्वाडमा सेबका सुमित वज्राचार्य, मिडफिल्डमा कौशलका करणराम भुल, डिफेन्समा ज्ञान मन्दिरका विवेक राई, गोलरक्षकमा ज्ञान मन्दिरका आयुब मोक्तान र प्रशिक्षकमा ज्ञान मन्दिरका आशिष थापा उत्कृष्ट चुनिए।

गल्स फुटबलमा भने हिमरश्मिले कौशललाई १–० ले हराउँदै यसअघि नै उपाधि जितिसकेको छ। व्यक्तिगत विधाको पुरस्कार भने मंगलबार मात्र घोषणा गरियो। हिमरश्मिकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भइन्। गोलरक्षकमा ज्ञान मन्दिरकी अनु बराम, डिफेन्समा हिमरश्मिकी निमा तामाङ, मिडफिल्डमा कौशलकी सेमेनु तमाङ र फर्वाडमा कौशलकै आस्मा गुरुङ उत्कृष्ट चुनिए। ब्वाइजमा १६ तथा गल्र्समा ८ टिमले नकआउट पद्धतिमा प्रतिस्पर्धा गरेका थिए।

माघ ५ गतेदेखि सुरु भएको ओप्स खेलकुद महोत्सवमा फुटबलसहित बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस टेनिस र एथलेटिक्स गरी ५ खेलमा प्रतिस्पर्धा भएको थियो। बास्केटबलको ब्वाइजमा सेब र गल्र्समा हिमरश्मिले उपाधि जिते। ब्याडमिन्टनमा हिमरश्मि र टेबल टेनिसमा श्रृजना ज्ञान सागरले स्वर्णमा ‘क्लिन स्विप’ गरे। दुवै खेलमा समान ३–३ स्पर्धा समावेश थिए। २२ स्वर्णका लागि प्रतिस्पर्धा भएको एथलेटिक्समा लालीगुराँसले १०, हिमरश्मिले ८, श्रृजना ज्ञान सागरले २ तथा ज्ञान मन्दिर र न्युटनले समान १–१ स्वर्ण जिते। समग्रमा हिमरश्मिले सर्वाधिक १३ स्वर्ण जित्यो।

सबै खेलका पदक विजेतालाई मंगलबार पुरस्कृत गरियो। विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, सचिव शिव अर्याल, सह–सचिव रविन बस्नेतलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे।

प्रकाशित: ९ माघ २०८० १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App