१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

माघ ६ देखि एनआरएनए इलाम गोल्ड कप हुने

प्रतियोगिताबारे जानकारी दिँदै रेडहर्स फुटबल क्लबका पदाधिकारी।तस्बिर:भीम/नागरिक

 माघ ६ देखि १३ सम्म  एनआरएनए इलाम गोल्ड कप  फुटबल प्रतियोगिता  हुने भएको छ ।आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ।

सदरमुकामको ठूलो टुँडिखेलमा रेडहर्स फुटबल क्लबले आयोजना गर्ने गोल्ड कपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुने तय भएको छ।आयोजकका अनुसार प्रतियोगितामा आयोजक रेडहर्स, काठमाडौँको एनआरटी, सर्लाहीको बागमती, इटहरीको राष्ट्रिय जागृति, झापाको बिर्तामोड युनाइटेड, बुटवलको लुम्बिनी, पाँचथर र  भारत दार्जिलिङको एमएफसी सहभागी हुनेछन्।

आयोजक रेडहर्सका निरोज खड्गीले प्रतियोगिताको सबैजसो व्यवस्थापन पूरा भएको जानकारी दिए।‘खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारा पिट निर्माण, मैदान अझ सजिलो बनाउने काम, स्टेजलगायत सबै तयारी पूरा भएको छ,’ उनले भने, ‘अब खेलाडीलाई स्वागत गर्ने बेला हुन लागेको छ ।’ प्रतियोगिता विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्।विधागत उत्कृष्ट खेलाडीको समेत पुरस्कार व्यवस्था गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।आयोजक क्लबका सचिव प्रकाश घिमिरेले अहिलेसम्म मैदान, प्यारा पिट र अन्य तयारीमा २५ लाख रुपैयाँ हाराहारी खर्च भइसकेको बताए।‘प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गर्ने भएको छ,’ उनले भने, ‘इलाम नगरपालिका, अन्य संघ–संस्था र व्यक्तिले पनि प्रतियोगितालाई सहयोग गरिरहनुभएको छ ।’ उनका अनुसार गेट मनी (दर्शकबाट मैदान गेटमा उठ्ने रकम) सबैभन्दा बढी हुने आशा आयोजकको छ।

खेल अवलोकन गर्न अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ।६ गते हुने उद्घाटन समारोहमा भ्वाइस् अफ नेपाल सिजन ५ विजेता इलामे विनोद राई र इलामकै गायक एम बरालसमेतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रकाशित: ४ माघ २०८० १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App