१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आहा–रारा गोल्डकप माघ ९ देखि, १२ टिम भिड्दै

पोखरामा माघ दोश्रो साता हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक सहारा क्लवका पदाधिकारी। तस्बिरः उमेश पुन/नागरिक

पोखराको प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोस्रो सातादेखि सुरु हुने भएको छ। 

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको २३ औं संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रतियोगितामा यस वर्ष दुई विदेशी, दुई विभागीय सहित आठ वटा ए डिभिजन क्लब, आयोजक र मोफसलको एक गरेर १२ टिम सहभागी हुने आयोजकले बताएको छ। प्रतियोगितामा विभागीय टोली नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब तथा ए डिभिजन क्लबहरू जाउलाखेल युथक्लव, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, मच्छिन्द्र, संकट र चर्च व्वाईज युनाइटेड फुटबल क्लब सहभागी हुनेछन्। 

प्रतियोगितामा आयोजक सहारा र पहिलो पटक मोफसलको राइजिङ स्टार फुटबल क्लब नवलपुरले सहभागिता जनाउने अध्यक्ष केशबराज बरालले बताए।

प्रतियोगितामा दुई विदेशी टिमहरू पारो फुटबल क्लब भुटान र दिल्ली फुटबल क्लब पनि सहभागी हुने उनले बताए। पारो फुटबल क्लब भुटानको प्रिमियर लिग च्याम्पियन क्लब भएको आयोजकले बताएको छ। 

त्यस्तै, दिल्ली फुटबल क्लब भारतको सर्वाधिक ठूलो प्रतियोगिता आईलिग खेलिरहेको क्लब रहेको अध्यक्ष बरालले जानकारी दिए। उनका अनुसार दिल्ली एफसी अहिले आईलिगको सत्रौं स्थानमा रहेर उपाधि दौडमा छ। ‘यस पटक दर्शकको मनोभावना बुझेर बलियो टिम ल्याएका छौं,’ उनले भने, ‘आशा छ दुवै टिमले सशक्त खेल प्रदर्शन गरेर दर्शकको मत जित्नेछन्।’

हिमश्री फुड्स प्रालिको उत्पादन आहा–रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको राशि यस पटक यथावत् राखिएको छ। निरन्तर राशि वृद्धि गर्दै आएको सहाराले यस पटक अघिल्लो वर्षजस्तै विजेतालाई नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने महासचिव रामजीप्रसाद अधिकारीले बताए।

उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने अधिकारीले जानकारी दिए।  उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। उत्कृष्ट पाँच विधा र हरेक दिनको ‘म्यान अफ दी म्याच’ ट्रफी र नगद पुरस्कार सहारा युकेले प्रायोजन गर्नेछ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख ३ हजार लाग्ने आयोजकले अनुमान गरेको छ। प्रतियोगिताबाट १ करोड ८६ लाख ७५ हजार आम्दानी गरेर ३७ लाख ७२ हजार बचत गर्ने लक्ष्य लिइएको महासचिव अधिकारीले बताए।

२०५८ सालमा क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिताको यस वर्षको संस्करणलाई पनि हिमश्री फुड्स प्रालिको उत्पादन आहा र रारा चाउचाउले मुख्य प्रायोजन गरेको छ। 

प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने क्लबले बताएको छ।

प्रकाशित: २६ पुस २०८० ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App