४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

‘क्यान महाप्रबन्धकको नियुक्ति अन्यायपूर्ण’

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति प्रक्रियागत र न्यायपूर्ण नभएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ।

क्यानले गत सोमबार उत्सव ढुंगानालाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। तर, सो नियुक्ति प्रक्रियागत र न्यायपूर्ण नभएको भन्दै सो पदमा दाबेदारसमेत रहेका असन्तुष्ट पक्षका नवराज कोइरालाले आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ढुंगानाको नियुक्ति स्वार्थ बाझिने किसिमको रहेको आरोप लगाएका हुन्। कोइराला पनि सो पदका प्रतिस्पर्धी थिए। ढुंगानाको नियुक्तिमा क्यानका सचिव पारस खड्काको भूमिकाप्रति कोइरालाले प्रश्न उठाएका छन्।

महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए। समितिमा रहेका क्यानका सचिव खड्का, पोखरेल दुवै बलियो नेपाल संस्थाको संस्थापक रहेको र त्यही संस्थामा आबद्ध व्यक्ति ढुंगानालाई नै महाप्रबन्धकका लागि छनोट गरिएको उनको आरोप छ।

‘महाप्रबन्धक छनोट समितिमा रहनुभएका क्यानका सचिवज्यू र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल दुवै बलियो नेपालमा हुनुहुन्छ। सोही संस्थामा उत्सव ढुंगाना काम गर्नुहुन्छ। नियुक्ति खाने र दिने व्यक्ति एउटै संस्थामा काम गरेको हुनु कन्फ्लिक्ट अफ इस्ट्रेस्ट हो,’ कोइरालाले भने।

कयौं बैंकमा सिइओ रहेका व्यक्तिलाई नै पाखा लगाउँदै नजिकको मान्छेलाई नियुक्ति दिइएको थियो। बलियो नेपालको सहकार्यमा पारसले नै बलियो कप क्रिकेट गर्दै आएका थिए।

कोइरालाले सो प्रक्रियाका क्रममा भएका घटनाप्रति अचम्मित रहेको पनि धारणा राखेका छन्। ‘त्यो नियुक्तिमा प्रश्न उठाउने धेरै ठाउँ छन्। शनिबारका दिन महाप्रबन्धक पदको अन्तर्वार्ता लिइएको छ। क्यानको कार्यालय हुँदाहुँदै लाजिम्पाटको होटलमा किन ? कार्यालय खुल्ने दिन किन नलिएको ?,’ कोइरालाले भने, ‘महाप्रबन्धकका लागि लिखितमा सोधिएका प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोधेजस्तो पनि छैन। त्यस किसिमका प्रश्नबाट महाप्रबन्धक कसरी छनोट हुन्छ ?’ तर, त्यहाँ सोधिएका प्रश्नबारे भने कोइरालाले बताउन चाहेनन्।

उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काविरुद्ध कोइरालाले सर्वोच्च अदालत जाने धम्की दिएका छन्। कुल ६१ आवेदनबाट सर्ट लिस्ट गरी अन्तर्वार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो। ६ महिनाअघि जनरल म्यानेजर वृत्तान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो। तर, नियुक्त भएपछि भने विवाद सिर्जना भएको छ।

प्रकाशित: २६ पुस २०८० ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App