१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

पुसको अन्तिम सातादेखि कुसुन्ती कप भेट्रान फुटबल हुने

पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ। कुसुन्ती युवा क्लबको आयोजनामा पहिलो संस्करणको कुसुन्ती मेयर कप भेट्रान फुटबल आगामी पुस २४ देखि २८ सम्म हुने भएको हो।

शुक्रवार क्लबले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो। जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीले प्रतिस्पर्धा गर्नसक्ने आयोजकको भनाइ छ। 

तथापि, अहिलेसम्म २७ टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ। प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीको चुनौती रहनेछ।

यद्यपि, उनीहरूको सहभागिताका लागि दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दियो। तीबाहेक  टोलीले भने प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका छन्।यो प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिसकेका अनन्त थापालगायत कयौँ पूर्वराष्ट्रिय खेलाडीले विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्दैछन्। ४० वर्षभन्दा माथि उमेर समूहका खेलाडीले मात्र प्रतियोगितामा खेल्न पाउनेछन्। प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई जनही पाँच हजार रुपैयाँका साथ बुद्ध एयरको माउन्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ। सो प्रतियोगिताका दौरान नेपाली फुटबलमा योगदान पु¥याएका पाँच जनालाई सम्मान गरिने आयोजकले जनाएको छ। त्यसका लागि आयोजकले एउटा समिति बनाइसकेको पनि उल्लेख गर्‍यो। 

प्रकाशित: २० पुस २०८० १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App